News 24 Television
 जात्रालाई निरन्तता दिन आर्थिक अभाव 

काठमाडौं । मौलिक परम्पराको रुपमा रहेको भैरव कुमारीजात्रा दोलखामा यस बर्ष पनि भब्यताका साथ मनाइएको छ । स्थानीय नेवार समुदायले प्रमुख रुपमा मनाउने यो पर्व भाद्र कृष्णपक्ष द्वितीयाका दिनदेखि षष्टीसम्म लगातार पाँचदिन रातभर भैरव–कुमारी जात्रा निकालिन्छ । 

रातीको समयमा निकालिने भैरव–कुमारी जात्रा दोलखाको विशिष्ट र मौलिक जात्रा हो ।  यो जात्रामा भैरव–कुमारी सहितका गणहरु नाँच्दै शहर भित्रका देवस्थलमा घुम्दै जात्रा निकालिएको ठाउँमा नै आएर भित्र्याउने चलन छ । 

जात्रा निकाल्नुभन्दा पहिले जात्रामा भाग लिने भैरव, कुमारी र अन्य गणलाई देवीदेवताको भेषमा सगुन दिएर मात्र बाहिर निकाल्ने गरिन्छ । जात्रा शुरु भएको पहिलो दिन भूत प्रेतहरुले जात्रा हेर्छन् त्यसैले मानवजातिले हेर्नु हुंदैन भन्ने धार्मिक मान्यता रहि आएको छ भने दोश्रो दिन गुभाजुले बज्र लिई घण्टी बजाउँदै हिड्ने प्रचलन छ । भैरव कुमारी जात्राबारे दोलखामा आधारित विभिन्न किंवदन्ती रहेको पाइन्छ । 

भैरवजात्राको चलन चलेको सन्दर्भमा केही किंवदन्तीहरु प्रचलित छन् । इतिहासका अनुसार दोलखामा हालको ढुङ्गल टोलमा सर्वप्रथम मानव बस्ती बसेको थियो । वस्तीमा २ दाजुभाई बस्थे । उनीहरु दिनहुँ तामाकोशी नागदहमा गएर नुहाई धुवाई गरीे नित्य पूजा गर्ने गर्थे । एक दिन उनिहरुले ३ दिदिबहिनीलाई नागदहमा भेटेपछि देवीको रुपमा दोलखामा ल्याएका थिए । 

जेठी र कान्छी त्रिपुरा सुन्दरीमा तथा माइली कालिन्चोक डाँडामा बसेको र कुमारी भने अति चञ्चल स्वभावकी भएकीले सधैं रातो पहिरनमा दोलखा बजार घुम्ने गरेको किंवदन्ती छ । यहि कारण दोलखा बजारमा विभिन्न समस्याहरु देखिएपछि दोलखावासीले तन्त्रमन्त्र गर्ने गुभाजुलाई गुहारेका थिए । सोही समयदेखि नै यो जात्राको सुरुवात भएको स्थानीयको विश्वास छ । 

कुमारीले कुनै पनि समयमा केही न केही विध्वंश गर्न सक्ने आशंकामा विध्वंश हुनबाट बचाउनका लागि भन्दै कुमारीको पति भैरवलाई पनि जात्रामा सहभागी गराइने धार्मिक विश्वासका साथ यो जात्रालाई भैरवकुमारीको जात्रा पनि भन्ने गरिन्छ । जात्रा प्रदर्शनको समयमा जहिल्यै भैरव अगाडि र कुमारी पछाडि बस्नुपर्ने, प्रत्येक रातको जात्रा अवधिभरि बाजा बजाउन रोक्न नहुने, कसैले सिठ्ठी बजाउन नहुने अन्यथा कुनै अनिष्ट हुनसक्ने जनविश्वास रहँर्दै आएको छ । तर, जात्रालाई निरन्तरता दिन भने आर्थिक कठिनाइ यथावत छ । 

गत वर्ष रोकिएको टिलिङ–टिलिङ बजाउने परम्परा यस वर्ष गुभाजुको तान्त्रिक विधिबाट पुनः सुरु गरिएको छ । भक्त खलकले जिम्मा लिएर पुनः सञ्चालन गरेपछि स्थानीयवासी खुसी भएका छन् । 

गुठीमा रहेको जग्गाबाट प्राप्त हुने आम्दानी पर्याप्त नहुँदा र स्थानीय निकायले पनि अपेक्षित सहयोग गर्न नसक्दा यस्तो मौलिक संस्कृति जोगाउन चुनौती बनेको छ । दोलखा भैरव–कुमारी जात्राले स्थानीय धार्मिक, सांस्कृतिक पहिचानलाई मजबुत पार्दै आएको छ । यसलाई संरक्षण गर्न सबैको सहयोग आवश्यक देखिन्छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update