
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको अलास्का बैठक बिना निष्कर्ष टुंगिएको बताइएको छ । तर, ट्रम्पले उल्लेख्य प्रगति भएको भनेका छन् भने, अर्को भेटका निम्ति समेत प्रस्ताव गरिएको छ । यो भ्रमण अमेरिका वा मस्कोमा हुनसक्ने भनिएपनि दुई नेताहरुको भेटले रुस युक्रेन शान्तिको पक्षमा काम गर्ने वातावरण बन्न सक्ला ? यो चासोको विषय बनेको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको बैठक अलास्काको एंकोरेजमा सम्पन्न भयो । यो भेटलाई विश्वसमुदायले नै महत्वका साथ हेरेको थियो । बैठक करिब तीन घण्टासम्म चल्यो र दुबै देशका विदेशमन्त्री तथा सल्लाहकारहरू उपस्थित रहेको बैठकले निकास दिन नसकेपनि सकारात्मक भएको भनिएको छ ।
तीन घण्टा चलेको बैठकपछि दुबै नेताहरुले संयुक्त पत्रकार सम्मेलन आयोजना गरे । जसमा रुसी राष्ट्रपति पुटिनले रुस शान्तिको पक्षमा रहेको भन्नेदेखि विभिन्न विषयमा आफ्ना कुरा राखे ।
रुसी राष्ट्रपतिलाई अलास्कामा भव्य स्वागत गरेका ट्रम्पले छलफल अत्यन्तै राम्रो भएको र यसले सकारात्मक नतिजा निकाल्ने बताए । तर, केहि कुराहरुमा सहमति जुट्न बाँकी रहेको भन्दै ट्रम्पले के विषयमा सहमति भयो र के बाँकी रहे भन्ने कुरा खोल्न चाहेनन् ।
दुई राष्ट्रपतिको पत्रकार सम्मेलनमै ट्रम्पले अर्को भेटको पनि अपेक्षा राखेको भनेपछि पुटिनले मस्कोमा भेट हुने भने । ट्रम्पले पनि प्रतिक्रिया दिए ।
सरसर्ति हेर्दा यो बैठकले ठोस उपलब्धि सार्वजनिक नगरेपनि रुसले चलाखीपूर्वक अन्तर्राष्ट्रिय समूदायको ध्यानमात्रै तानेन, युक्रेनमाथिको सैन्य कारबाहीको औचित्य र आफ्नो लक्ष्यप्रति कति दृढ छ भन्ने कुरा भने दोहो¥याएको छ ।
पुटिनले आफ्नो प्रभुत्व विश्व समूदायमाथि छरपष्ट मात्रै पारेका छैनन्, उनले रुसको विशेष सैन्य कारबाहीको औचित्यबारे समेत थप दृढता देखाउदै अघि बढ्न चाहेको सन्देश दिए । तर, विश्व शान्ति पुरस्कारको उत्कट चाहना राख्ने अमेरिकी राष्ट्रपति ट्रम्पले समेत चलाखीपूर्वक रुसलाई नचिढ्याउन चाहेको देखिन्छ । उल्लेख्य प्रगति भएकोदेखि बैठकलाई १० मा १० अंक दिने भन्दै सराहना गरिरहेका छन् ।
अलास्कामा के गरे पुटिनले ?
ट्रम्पले पुटिनलाई उनको विशेष विमानमै पुगेर स्वागत गरे भने रेड कार्पेट विछ्याएर अति महत्वपूर्व सम्मान प्रकट गरे । सम्मानपछि ट्रम्पले आफ्नै लिमोजिनमा राखेर बैठकस्थलसम्म पु¥याए भने दुई नेताहरुबीच गाडीमा समेत विशेष सम्वाद भएको बताइन्छ ।
त्यसपछि बैठकमा सहभागी भए र पुटिन र ट्रम्पले पत्रकारलाई सम्बोधन गरे । सार्वजनिक प्रश्नको सामना नगरेका दुई नेताहरुले संक्षिप्तमा कुराकानी गर्दै बाहिरिए । बैठकबाट बाहिरिएपछि पुटिनले एंकोरेजमा रहेको सोभियत पाइलटहरूको समाधिमा फूल चढाएपछि रूस फर्किए। यो पुटिनको पछिल्लो दस वर्षमा पहिलो अमेरिकी भ्रमण थियो, जुन करिब पाँच घण्टा लामो रह्यो ।
ट्रम्पको सक्रियता
पुटिनलाई भव्य स्वागतदेखि वैठकपछि पत्रकार सम्मेलनमा सहभागी भएका ट्रम्पले रुसंगको छलफल प्रगतिको बाटोमा गएको दाबी गरिरहेका छन् भने युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई अमेरिकामा आमन्त्रण गरेका छन् ।
जेलेन्स्कीले पनि अमेरिकामा पुगेर ट्रम्पसंग छलफल गर्ने बताइएको छ भने जेलेन्स्कीले रुसी राष्ट्रपतिसहितको बैठकमा बस्न आफू राजी भएको भनेका छन् । ट्रम्पले रुससंग कुनै सम्झौता गरिदिन्छन कि भन्ने त्रासमा रहेका युरोपेली साझेदार र युक्रेन ट्रम्पको यस्तो कदमपछि राहतको महशुस गरिरहेका छन् । तर, ट्रम्पले जेलेन्स्कीलाई अमेरिकामा बोलाएर कस्तो छलफल गर्छन र कुराकानी अघि बढ्छ भन्ने विषयले समेत अर्थ राख्नेछ ।
भूमी साटासाट गर्नेदेखि विभिन्न विषयहरु यसमा रहेको बेला जेलेन्स्कीको अमेरिका भ्रमण समेत चासोका साथ हेरिएको छ । ट्रम्पले पुटिनसंगको भेटवार्तापछि युरोपेली नेताहरु र युक्रेनी राष्ट्रपतिसंग सम्वाद गरेर युद्धविरामको सट्टा शान्ति सम्झौता हुन सक्ने समेत संकेत गरेका छन् । ट्रम्पले जेलेन्स्की तयार भएमा पुटिनसंग अर्को भेट छिट्टै तय हुने अपेक्षा समेत व्यक्त गरेका छन् ।
बैठकका केहि रोचक पक्ष
बैठकमा रूसी पक्षबाट युरी उशाकोभ र विदेश मन्त्री सेर्गेई लाभरोभ थिए भने अमेरिकी पक्षबाट स्टेट सेक्रेटरी मार्को रुबियो र विशेष दूत स्टीभ विटकोफ सहभागी थिए।
युक्रेनको मुद्दा
पुटिनका अनुसार युक्रेन सम्बन्धी परिस्थितिको विषय बैठकको केन्द्रमा थियो। उनले ट्रम्पसँग “व्यावसायिक र विश्वासिलो सम्बन्ध“ स्थापना भएको बताएका छन् र यसले युक्रेन द्वन्द्वको अन्त्यमा मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन्।
ट्रम्पको प्रतिक्रिया
ट्रम्पले बैठकलाई “१० मा १०” दिएको बताएका छन्। उनले धेरै विषयमा सहमति भएको, केहीमा प्रगति भएको बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुसँग प्रतिक्रिया दिँदै उनले यस बैठकलाई अत्यन्तै सफल भनेका छन् ।