News 24 Television
अब भिजिट भिसामा जाने यात्रुलाई शंकाकै आधारमा नरोकिने

काठमाडौँ । अध्यागमन विभागले सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक यात्राका लागि विभिन्न सात पक्षलाई अनुरोध गरेको छ ।

विभागले आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यागमन प्रक्रियामा अनियमितता तथा भ्रष्टाचारप्रति शुन्य सहनशीलता नीति रहेको भन्दै अध्यागमन प्रणालीलाई व्यवस्थित गर्न सात पक्षलाई आग्रह गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले अध्यागमन प्रक्रियाको सुधारका लागि यात्रु, वायुसेवा कम्पनी, स्थानीय तह र सञ्चार माध्यम, विदेशस्थित कुटनैतिक नियोग, ट्राभल्स तथा मुद्रा सटही कारोबार गर्ने संस्थाहरुलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

उनले अबदेखि कुनै पनि नेपाली नागरिकलाई केवल अनुमान, शंका वा हैसियतको आधारमा विदेश जान नरोकिने प्रतिबद्धता समेत व्यक्त गरे । यद्यपि फर्जी वा नक्कली कागजात प्रयोग गरी प्रस्थान गर्न खोज्ने यात्रुलाई प्रस्थान अनुमति नदिइने मात्र नभई नेपाल प्रहरीमार्फत कानूनी कारबाही गरिने चेतावनी समेत दिए ।

यात्रामा जानुअघि वैध राहदानी, भिसा, दुईतर्फी हवाई टिकट, होटल बुकिङ वा आफन्तसँग बस्ने प्रमाण, डलर सटही र आवश्यक कागजात अनिवार्य रुपमा लिन यात्रुहरुलाई अनुरोध समेत गरे । उनले दलाल वा विचौलियाको प्रलोभनमा परी अवैधानिक बाटोबाट विदेश नजान र अध्यागमन प्रक्रियामा रकम मागिएमा तुरुन्तै विभाग, प्रहरी वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिन समेत आग्रह गरे ।

 वायुसेवा कम्पनीलाई समेत यात्रुहरुलाई प्रस्थान समयभन्दा कम्तीमा एक घण्टा अगाडि अध्यागमनको ‘स्टेरेलाइज्ड एरियामा पठाउन, अत्यधिक ओभरबुकिङ नगर्न र बोर्डिङ पास दिन नसक्ने अवस्थामा यात्रुलाई लिखित जवाफ दिन अनुरोध समेत गरे । उनले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई दलाल–बिचौलियाबाट नागरिकलाई सचेत गराउन र ठगी गर्ने समूहविरुद्ध निगरानी तथा कारबाही अभियान सञ्चालन गर्न समेत आग्रह गरे ।

साथै, सञ्चार माध्यमलाई वैदेशिक यात्रा सम्बन्धी झुट्टा विवरण, फर्जी कागजात र दलालका गतिविधिबारे जिम्मेवारपूर्वक जानकारी प्रसार गरी जनतालाई सचेत बनाउन समेत विभागले अपिल गरेकाे छ । 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update