
काठमाडौँ । रत्नराज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले भदौ २२ देखि २७ गतेसम्म अन्तर-क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
आयोजक स्ववियुका सभापति लोकेश कुमार खड्काले पत्रकार सम्मेलनमा खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । यस प्रतियोगितामा पहिलो हुने टोलीले ३ लाख, दोस्रो हुनेले २ लाख, र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ नगद पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । साथै, उत्कृष्ट खेलाडीहरूलाई पनि विशेष सम्मान र प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।
रत्नराज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले खेलकुदको महत्त्वलाई उजागर गर्दै अन्तर-क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितालाई सफल बनाउन विभिन्न निकायहरूसँग सहकार्य गरेको छ।
यस प्रतियोगिताको मुख्य उद्देश्य युवाहरूमाझ शारीरिक तन्दुरुस्ती, अनुशासन, आपसी भाईचारा, नेतृत्व क्षमता, राष्ट्रप्रेम र अनुसन्धानात्मक चेतना विकास गर्नु हो।
स्ववियुका अनुसार, यस्ता गतिविधिले विद्यार्थीहरूलाई कक्षा कोठाको ज्ञानसँगै जीवनोपयोगी अनुभव हासिल गर्न मद्दत पुर्याउनेछ। यस प्रतियोगितालाई सफल बनाउन क्याम्पस प्रशासन, विद्यार्थी संगठन, स्वास्थ्य संस्था, सुरक्षाकर्मी, सञ्चारमाध्यम, स्थानीय निकाय र व्यापारीहरूसँग समन्वय गरिएको छ।