News 24 Television
पाल्पा भगवती र विराटनगरको राधाकृष्ण जात्राको रौनक

मोरङ । काठमाडौंमा विभिन्न थरिका जात्राहरु हुने गर्छन् । अनेककिसिमको जात्राको चर्चा पनि अनेक प्रकारले हुने गरेको छ । कुनै कुनैजात्रा विशेषलाई लिएर नेपाली उखान नै बनेको छ ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’ । काठमाडौं उपत्यकामा मात्रै होइन, उपत्यका बाहिरका जिल्लाहरुमा पनि विभिन्न ऐतिहासिक जात्राहरु हुने गरेका छन् । 

पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिंह थापाले युद्ध जितेको सम्झनामा विजय उत्सव स्वरुप पाल्पामा निकालिने जात्रा हो, रणउजीरेश्वरी भगवती जात्रा । वि.सं. १८७१\७२ मा जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालिन कर्णेल उजीर सिंह नेतृत्वको  नेपाली फौजले अंग्रेजलाई परास्त गरेको सम्झनामा रथयात्रा निकाल्ने गरिएको छ । 

तत्कालिन अंग्रजसँगको युद्धमा भगवतीको भाकल गरी युद्धमा गएका उजीर सिंहले साम्राज्य विस्तारवादको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त गरेको खुसियालीमा विजयोत्सवसहित भगवतीको रथयात्रा निकालिने चलन चलेको हो । वि.सं. १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको छ । 

नेपाली सेनाकै प्रत्यक्ष संलग्नतामा यो जात्रा निकाल्ने गरिएको छ । सोही जितगढी युद्धको सम्झनामा आइतबार पाल्पा सदरमुकाम तानसेनमा २०६औं संस्करणको रणउजीरेश्वरी भगवतीको रथयात्रा निकालिएको छ । नेपाली फौजले विजयी प्राप्त गरेको खुसियालीमा मनाइने जात्रालाई खट्यात्रा, भगवती जात्रा, सिन्दूरजात्रा, तथा रथयात्राका नामले चिनिन्छ । 

जात्राका अवसरमा तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो । कुमाल जातीका जवानले आइतबार अपरान्ह १२ बजेर ३० मिनेटमा भगवतीको प्रतिमुर्ती राखिएको रथलाई उठाएर नगर परिक्रमा गराएका थिए । पाल्पामा रथायात्राका दिन स्थानीय विदा दिइने गरिएकोमा पछिल्लो समय प्रदेश सरकारले नै सार्वजनिक विदा दिने गरेको छ ।   

उता, मोरङको विराटनगरमा आइतबार नै ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको नयाँ रथयात्रा निकालिएको छ । विगत ९४ वर्षदेखि मनाइदै आएकोे विराटनगरको राधाकृष्णको रथयात्रालाई पूर्वीनेपाल कै प्रमुख पर्वका रुपमा लिने गरिन्छ । ५८औं संस्करणको निकालिएको रथयात्रामा  हजारौं भक्तजनहरू सहभागी भएका थिए ।   

वि.सं. १९८८ देखि विराटनगरवासीले प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगर वडा न.१ पोखरिया स्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगलजोडी सहितको रथयात्रा निकाल्ने परम्परा रही आएको छ । यसपटक २१ फिट अग्लो ७ टन बराबरको नयाँ रथमा भगवान श्रीकृष्ण र राधाको युगल जोडीलाई विराजमान गराएर रथयात्रा गरिएको छ । राधाकृष्ण रथयात्रालाई कोशी प्रदेश सरकराले पनि उत्तिकै महत्व दिने गरेको छ । 

रथ तान्ने डोरी छोएमा आफुले गरेको पापबाट मुक्ति पाइने भन्ने विश्वासले डोरी छुन नै लागि भक्तजनहरु बीच तछाडमछाड नै हुने गर्दछ । नेपालमै ठूलो मानिने रथयात्रामा भारतबाट समेत धर्मानुरागीहरुको उपस्थिति हुने गरेको छ । रथयात्राको दिन आइतबार कोशी प्रदेश सरकारले झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक बिदा दिइएको छ । 

यस्तै, कृष्ण जन्माष्टमीको अवसरमा सप्तरीको सदरमुकाम राजविराजमा पनि आइतबार नै भव्य रुपमा रथ यात्रा निकालिएको छ । यात्रामा झण्डै दश हजार भक्तजनहरू सहभागी भएका थिए । 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update