News 24 Television
ऋणीले ऋण नबुझाउँदा प्रोफेशनल सहकारी तनावमा !

केही वर्षयता सहकारी सञ्चालकहरुले सर्वसाधारणको बचत रकम हिनामिना गरेर अर्बौ रुपैयाँ डुबाएको समाचार यति धेरै आइसक्यो कि अब यस्ता समाचारहरुमा सर्वसाधारणले चासो नै राख्न छोडे भन्दा पनि हुन्छ । तर सहकारीले बचतकर्ताको रकम मात्रै डुबाएका छैनन् केही ऋणीहरुले समेत सहकारी सञ्चालकहरुलाई यति दुख दिएका छन् कि उनीहरुले लिएको ऋण समयमै नबुझाउँदा सहकारी सञ्चालकहरु रुनु न हाँस्नुको स्थितिमा पुगेका छन् । 

त्यसैमध्येको एक सहकारी हो काठमाडौँको मिनभवनमा रहेको प्रोफेशनल बचत तथा ऋण सहकारी संस्था लिमिटेड । यो सहकारीबाट ऋण लिएका रविन्द्रकुमार श्रेष्ठ, एन्जेला सिंह श्रेष्ठ र विमला राजभण्डारीले समयमै ऋण नबुझाउँदा सहकारी नै धराशायी बन्ने अवस्थामा पुगेको सहकारी श्रोतको भनाइ छ । 

काठमाडौँको गोकर्णेश्वर ६ मा रहेको जग्गा धितो राखेर उनीहरुले ऋण लिएको सहकारी श्रोतले बतायो । तर उनीहरुले सर्त कबुलियत बमोजिम ऋण कर्जाको सावाँ, व्याज लगायतका अन्य रकम नबुझाएका कारण सहकारीले ३५ दिने कर्जा ऋण चुक्ता भुक्तान गर्ने सूचना नै जारी गरेको छ । 

कर्जा चुक्ता भुक्तानी गर्न अनुरोध गरी पटक–पटक मौखिक तथा लिखित तरताकेता पत्राचार गर्दा पनि उनीहरुले कुनै चासो नदेखाई वेवास्ता गरेको सहकारीको आरोप छ । 

यता, ऋणीहरुमध्ये रविन्द्रकुमार श्रेष्ठ र एन्जेला सिंह श्रेष्ठसँग सम्पर्क गर्दा उनीहरुले नियमित ऋण बुझाइरहेको दाबी गरे । यद्यपी उनीहरुले यस्तो दाबी गरेपनि सहकारीले भने कर्जा ऋण चुक्ता भुक्तान गर्ने बारे ३५ दिने सूचना नै निकालेको छ ।  
 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update