
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले राष्ट्रपति भएर नेपालको गौरव बढ्नेगरी काम गरेको बताएकी छन् ।
काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको राष्ट्रपतिले गर्नुपर्ने भुमिका मर्यादित ढंगले राम्रोसँग राष्ट्रको गौरव बढ्नेगरी काम गरेको दाबी गरिन् । राष्ट्रपति हुँदा आफूले गरेका कामहरु इतिहासको पानामा खुला रहेको भन्दै आफू पनि आलोचनाभन्दा बाहिर नरहेको उनले बताइन् । तर तथ्यका आधारमा आलोचना हुनुपर्ने उनको भनाइ छ । आफू नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्ने पनि स्पष्ट पारिन् । आफूलाई केहीले नेता मान्ने गरेको तर एमाले केन्द्रीय कार्यालय, च्यासलले संगठित सदस्यतामै प्रश्न उठाएको टिप्पणी गरिन् ।
उनले भनिन्, ‘हुनतः मेरो सदस्यताको बारेमा प्रश्न छ । साथीहरु नेता भन्छन् । पार्टीको संगठित सदस्यमै प्रश्न उठाएको छ, यो च्यासलले । नेकपा एमाले अहिले भयो, मैले नेकपा माले हुँदादेखि नै सदस्य भएको हो । २०३७ सालमा सदस्यता लिएको हुँ । ४५ वर्ष भएछ । राष्ट्रपतिको शपथ खाने बेलामा नेकपा एमालेको सदस्य भएको ३५ वर्ष भएको थियो । पार्टीले विशेष निर्णय गरेर जानैपर्छ भन्यो । मैले गएर शपथ खाएँ । मैले यो देशको राष्ट्रपतिले गर्नुपर्ने भुमिका एकदम मर्यादित ढंगले राम्रोसँग राष्ट्रको गौरव बढ्नेगरी गरेको छु । यो सबै इतिहासको पाना खुला छन् । मैले सार्वजनिक रुपमा भनेको छु, म आलोचना भन्दा बाहिर छैन । तर तथ्यका आधारमा हुनुपर्छ । म निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु । म गरिरहन्छु ।’
पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवादको मर्मअनुसार काम भयो कि भएन भनेर समीक्षा गर्ने बेला भएको पनि बताइन् ।