News 24 Television
रुपन्देही– ३ उपनिर्वाचन : ठूला दलहरू ढुक्क, सानालाई चटारो

काठमाडौँ । ०७९ को आम निर्वाचनमा ठूलो जनमत प्राप्त दलहरु नै आपसी भिडन्तमा उत्रिने र नयाँ दलहरु पनि सशक्त तयारीका साथ अघि बढिरहँदा रुपन्देही – ३ को उपनिर्वाचन रोचक बन्ने निश्चित छ । कात्तिक १७ गते हुने रुपन्देहीको उपनिर्वाचनको लागि साना र नयाँ दलहरु तीव्र तयारीमा रहेपनि नेपाली काँग्रेस र एमालेले भने तयारीलाई तीव्रता दिइरहेका छैनन् । यद्यपि मत परिणाम आफ्नै पक्षमा आउने आत्मविश्वास उनीहरुमा प्रष्टै देखिन्छ । 

यो उपनिर्वाचन भावी आम निर्वाचनको एक मानकको रुपमासमेत हेरिँदा नयाँ दलहरु तथा स्वतन्त्रहरु भने तीव्र तयारीमै जुटेका छन् । अर्कोतर्फ यो उपनिर्वाचनमा रास्वपा मुख्य आकर्षणको केन्द्र बनेको छ  । किनकी सहकारी ठगी प्रकरणमा रवि लामिछाने रुपन्देही कारागारमै ४ महिनाभन्दा बढी बसेका थिए । जसलाई राजनीतिक प्रतिशोध भनेर रास्वपाले नै व्याख्या गरिरहेको छ । यसको जवाफका लागि भएपनि रास्वपालाई रुपन्देही– ३ को उपनिर्वाचन जित्नै पर्नेछ । रास्वपा यसको प्रयोजनका लागि नै निर्वाचनको फरक तयारीमा जुटिरहेको छ । यसअघि रास्वपाले श्रावण ७ देखि २१ गतेसम्म उम्मेदवार बन्नेहरुका लागि दरखास्त आह्वान गरेको थियो भने अहिले दरखास्त दिने ९ उम्मेदवरालाई नै आन्तरिक अन्तरवार्ता गरिरहेको छ । 

रास्वपाले अब उपनिर्वाचको अन्तिम उम्मेदवार छान्न प्रारम्भिक निर्वाचनसमेत गर्ने भएको छ । जसमा उक्त क्षेत्रका रास्वपा कार्यकर्ता तथा केन्द्रीय सदस्यहरुले आफूलाई मनपरेको उम्मेदवारलाई मतदान गर्न पाउनेछन् । यसबार्टै सर्वोकृष्ट बन्नेले रास्वपाको आधिकारिक उम्मेदवार बन्न पाउनेछ । 

बालेन पक्षको पनि उम्मेदावरी

रुपन्देही– ३ को उपनिर्वाचनलाई नयाँहरुले मौकाको रुपमा हेरिरहँदा काठमाडौं महानगरका मेयर बालेन शाहका सल्लाहकारहरुको तर्फबाट पनि उम्मेदवारी दिने तयारी भइरहेको छ । जसले पनि यो उपनिर्वाचन रोचक बन्न आँकलन भइरहेका छन् । आम नागरिकहरुमा स्वतन्त्र मेयर बालेनकोसमेत राजनीतिक व्यापक प्रभाव रहँदै आएको छ । 

यही बेला काठमाडौंका मेयर बालेनका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र खाद्य सल्लाहकार सन्तोष गिरीले चुनाव लड्ने तयारी गरेका हुन् । उनीहरुले उपनिर्वाचनमा उम्मेदवारी दिने चर्चा चलिरहेपनि २ मध्ये को ? आधिकारिक उम्मेदवार बन्ने भन्ने टुंगो लागेको छैन । तर यो उम्मेदवारीले बालेनको पनि केन्द्रीय राजनीतिमा सक्रिय प्रतिनिधित्वको संकेत भने गराएको छ । केन्द्रीय राजनीतिमा मेयर बालेनको आगमन अपेक्षा भइरहँदा उनको सल्लाहकार समूहबाटै उम्मेदवारी आए यसले ठूलो अर्थ राख्ने व्याख्या भइरहेका छन् । 

मधेसवादी मोर्चाको तयारी अर्कै 

मधेशवादी दलहरुले पनि रुपन्देही उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् । मधेशवादी दलहरुले एकै मोर्चा बनाएर साझा उम्मेदवार बनाउने प्रयास गरेपनि जनमत पार्टीले एकल उम्मेदवारी दिने उद्घोष गरिसकेको छ । तर यस्तैमा रुपन्देही – ३ मा सबैभन्दा धेरै जनमत पाएकोे मधेशी दल नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारलाई साझा बनाएर अघि बढ्ने तयारीमा रहेका मोर्चा आबद्ध दलहरु भने अहिले स्वतन्त्र उम्मेदवार मार्फत नै अघि बढ्ने चरणमा पुगेका छन् ।

 राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपाले नाउपाकै उम्मेदवारलाई साझा मान्ने तयारी गरेका थिए । यस्तैमा नाउपा आन्तरिक विवादका कारण उक्त दल निर्वाचन आयोगमै दर्ता नभएका कारण उनीहरुले स्वतन्त्र उम्मेदवारमार्फत नै निर्वाचनमा होमिने तयारी गरेका हुन् । जसपा, लोसपा लगायतका मोर्चा आबद्ध दलहरले साविककै निर्णयलाई निरन्तरता दिँदै नाउपाको उम्मेदवारलाई नै समर्थन गर्ने प्रतिबद्धता जनाएपछि अब नाउपाका संरक्षक रेशम चौधरीले नै चयन गरेका उम्मेदवारलाई मोर्चाले साझा उम्मेदवार मान्नेछ । 

यसरी रुपन्देही– ३ को उपनिर्वाचनलाई लक्षित गरेर नयाँ दलहरुले धुमधामकासाथ तयारी गरिरहँदा पुराना दलहरु भने खास तयारीमा देखिएका छैनन् । तर जेहोस् यो पटक मिनी जनमतको रुपमा हेरिएको रुपन्देहीको उपनिर्वाचनमा बालेनका सल्लाहकार टिमदेखि रास्वपासम्मको भिडन्तले चिर्वाचन नतिजालाई रोकच बनाउने प्रष्ट देखिन्छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update