
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको जानकारी दिएका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । मन्त्री भण्डारीका अनुसार औपचारिक क्षेत्रका २१ हजार ३ सय ९२ रोजगारदाता तथा करिव ६ लाख १३ हजार ७१८ श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।
उनले स्थानीय तहसँगको सहकार्यमा अनौपचारिक क्षेत्रका ७७६ श्रमिक र ४७६ स्वरोजगार व्यक्ति समेत कोषमा आवद्ध भइसकेको जानकारी दिए । हालसम्म १८ लाख ३५ हजार ६ सय ४ जना वैदेशिक रोजगारीमा जाने श्रमिक कोषमा आवद्ध भइसकेको बताउँदै उनले सामाजिक सुरक्षा कोषलाई सबै श्रमिकका लागि अनिवार्य बनाउने लक्ष्य सरकारको स्पष्ट पारे ।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुने व्यवस्था बताउँदै यसले वैदेशिक रोजगारी सुरक्षित हुनुका साथै श्रमिकका परिवारलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
आन्तरिक रोजगारीको सिर्जना गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको समेत उनले बताए । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन साथै सबै प्रकारका श्रमिकलाई सामजिक सुरक्षा कोषमा आवद्ध गराउन सहयोग गर्न सबैसँग आग्रह समेत गरे ।