News 24 Television
उम्मेदवार छनौटमा रास्वपाको नौलो प्रयोग, आकांक्षी कस्ता ? 

काठमाडौँ । रुपन्देही– ३ को उपनिर्वाचनका लागि फरक रणनीति बनाएर अघि बढिरहेको रास्वपाको आधिकारिक उम्मेदवार टुंगो लाग्न अब धेरै समय छैन । रास्वपाले उम्मेदवार चयनका लागि अहिले फरक–फरक विधि अपनाइरहेको छ । पार्टीमा पारदर्शीता, आन्तरिक प्रतिस्पर्धा र निश्पक्षता अपनाउनका लागि यसपाली रुपन्देही– ३ को उपनिर्वाचनलाई लिएर रास्वपाले नयाँ ट्रिक लगाइरहेको हो । 

उम्मेदवारीको सम्बन्धमा रास्वपाले यसअघि साउन ७ देखि २१ गतेसम्म दरखास्तका लागि अनलाईन आवेशन आह्वान गरेको थियो । यो अवधिमा रास्वपाको उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका थिए, भने पार्टीले यहीबाट आधिकारिक उम्मेदवार छान्ने भनेर प्रकृया अघि बढाइसकेको छ । पार्टीले ९ दावेदारहरुको अन्तरवार्ता गरिसकेको छ । र, अहिले उपनिर्वाचन हुने क्षेत्रमा उम्मेदवारका प्रत्यासीहरु खटिएका छन् । जसको मूल्याङ्कन पार्टीको प्रदेश र जिल्ला संरचनाका पदाधिकारीहरूले गर्नेछन् । 

उम्मेदवरका आकांक्षी को–कस्ता ?  

डा. लेखजंग थापा
रुपन्देहीकै स्थानीय डा. लेखजंग थापा पेशाले चिकित्सक हुन् । वरिष्ठ न्युरोलोजिष्ट रहेको उनी चिकित्सा पेशासँगै अभियन्ता र सामाजिक व्यक्तित्व हुन् । नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनले पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका छन् । त्यस्तै डा. थापा अमेरिकाको प्रसिद्ध हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फमेटिभ’का ग्राजुएट्ससमेत हुन् । उनी आफूलाई नै उक्त क्षेत्रको सबैभन्दा योग्य उम्मेदवारको दावी गर्छन् । 

सुलभ खरेल
रुपन्देहीकै स्थानीय रहेका अर्का उम्मेदवारका आकाक्षी सुलभ खरेल अहिले चर्चाको केन्द्रमा छन् । पेशाले अधिवक्ता रहेका सुलभ खरेल लामो समयदेखि कानून व्यावसायमा छन् । सर्वोच्च अदालतमा संवैधानिक र सार्वजनिक सरोकारका मुद्दाहरूमा वकालत गर्दै आएका उनी रास्वपाको मुद्धाफाँट हेर्दै आएका छन् । अन्तर्राष्ट्रिय कानुनकासमेत जानकार रहेका उनले हालै अमेरिकाको मिशिगन विश्वविद्यालयबाट संवैधानिक तथा फौजदारी कानुनमा दोस्रो एल.एल.एम. गरेका छन् । 

मधुप्रसाद अर्याल
रास्वपा रुपन्देही–३ का क्षेत्रीय सभापतिसमेत रहेका मधुप्रसाद अर्याल शिक्षाको शिक्षा क्षेत्रमा लामो लगाब छ । अटिजम र भाषिक समानताको क्षेत्रमा १५ वर्षभन्दा बढी समय काम गरेका अर्यालेले त्रिभुवन विश्वविद्यालयमा पीएचडी गर्दै अन्तर्राष्ट्रिय अनुसन्धान फेलोको सम्मान प्राप्त गरेका छन् । उनी मुलुकमा बढ्दो बेथितिलाई चिर्न राजनीतिमा प्रवेश गरेको दाबी गर्छन् । 

पार्थिवेन्द्र उपाध्याय
रुपन्देही क्षेत्र नम्बर ३ कै शिक्षकसमेत रहेका पार्थिवेन्द्र उपाध्याय पनि रास्वपा उम्मेदवारको आकांक्षी छन् । उनी पनि लामो समयदेखि शिक्षा र समाजसेवामा सक्रिय रहँदै आएका पात्र हुन् । नर्वेबाट अंग्रेजी भाषाशास्त्रमा स्नातकोत्तर गरेका उनले राजनीतिशास्त्र र कानुनको अध्यायन गरेका छन् । अन्तर्राष्ट्रिय अनुभवका साथै शिक्षा र कानुन सम्बन्धीका ज्ञानलाई राजनीतिमार्फत जनताको सेवामा प्रयोग गर्ने उनले संकल्प गरिरहेका छन् । 

ज्ञानु पौड्याल
महिला तथा बाल–बालिका अधिकार र भ्रष्टाचारविरुद्धको अभियन्ता ज्ञानु पौड्याल पनि रुपन्देही – ३ को उपनिर्वाचनमा उम्मेदवारको आकांक्षी छन् । ३ दशकबढी समयदेखि सक्रिय सामाजिक कार्यमा रहेकी ज्ञानु कोरोनाको विपत्तिका बेला विरामीको सेवामा खटिएकी थिइन् । जनउत्थान सहकारीकी अध्यक्ष भएर ३९ हजारभन्दा बढी सदस्यलाई आर्थिक तवरले सशक्तिकरण गराएको उनको दाबी छ ।  

कुशुम महर्जन
रुपन्देहीकै अर्की नेतृ कुशुम महर्जन पनि उपनिर्वाचनमा रास्वपाको उम्मेदवार बन्ने आकांक्षा सहित मैदानमा छिन् । सामाजिक न्यायका लागि लड्दै आएकी कुशुम लामो समयदेखि शिक्षा, महिला, बालबालिका, सामाजिक विकास र समाजसेवामा सक्रिय रहँदै आएकी छिन् । उनी नेपालका ५० भन्दा बढी जिल्लाको सामाजिक, भौगोलिक परिस्थिति र समस्यासँग परिचित छिन् । 

रचना क्षेत्री 
पोखरामा जन्मिएर हाल रुपन्देहीमै बसोबार गर्दै आएकी रचना क्षेत्री बालविकास शिक्षामा संलग्न छिन् । उनी सिद्धार्थ उद्योग वाणिज्य संघको निर्वाचित कार्यसमिति सदस्यसमेत हुन्।

महिला, युवा तथा बालबालिकासहित समाजका विभिन्न समुदायसँग सम्बन्धित सामाजिक सेवामा सक्रिय रहँदै उनले राष्ट्रपतिबाट प्रदान गरिने “समाज सेवा रत्न” पदकसमेत  प्राप्त गरेकी छन् । उनी रास्वपा सिद्धार्थनगर नगर प्रशिक्षण विभाग पूर्वप्रमुख हुन् भने हाल उनी पार्टीको रुपन्देही जिल्ला कोषाध्यक्षको जिम्मेवारीमा छिन् । 

पुनमकुमारी अग्रवाल
रुपन्देहीकै स्थानीय पुनमकुमारी अग्रवाल पनि रास्वाको उम्मेदवार बन्ने होडमा छिन् । पेशाले उद्योगी रहेकी उनी नेपालका किसानहरु माझ मान्छे र माटोको स्वास्थ जोगाउने उद्यमीको रुपमा पनि परिचित छिन । मेडिकल माईक्रोबायोलोजीमा स्नाताकोत्तर गरेकी पुनमकुमारीसँग मेडिकल कलेजहरुमा अध्यापन गरेकोसमेत अनुभव छ ।

जेबी गुप्ता
०७९ को आम निर्वाचनमा रुपन्देही– ३ कै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका जीतबहादुर गुप्ता (जेबी) पनि पुनः उम्मेदवारको आकांक्षा बोकेर मैदान ओर्लिएका छन् । त्रिभुवन विश्वविद्यालय, भैरहवा, रुपन्देहीबाट अर्थशास्त्र र गणितमा स्नातक गरेका उनी हाल अर्थशास्त्रमा स्नातकोत्तर गर्दैछन् । साथै उनले कूटनीतिक अर्थशास्त्रमा अनुसन्धान थेसिस पनि गरिरहेका छन् । उनीसँग विभिन्न कलेजमा १५ वर्षसम्म अध्ययन गरेको अनुभवसमेत छ । 

रुपन्देही– ३ को उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न कानून व्यावसायीदेखि डाक्टरसम्मको होडबाजीमा छन् । यद्यपि रास्वपाको आधिकारिक उम्मेदवार को बन्ने ? भन्ने अझै निश्चित भइसकेको छैन । यस्तैमा उम्मेदवार छनौँटको विधि र पद्धतिका विषयलाई लिएर रास्वपामाथि अनेकौँ प्रश्न र टिप्पणी पनि भइरहेका छन् । नेपालको लामो राजनीतिक इतिहासमा रास्वपाले नै पहिलो पटक उम्मेदवारहरुमा यो विधिको प्रयोग गरेको दावी गरिरहेको छ । तर रास्वपाको यो प्रयोगलाई नेपाली जनता र मतदाताले अनुमोदन गर्छन् वा गर्दैनन् ? यो भने प्रतिक्षाको विषय बनेकोा छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update