News 24 Television
देउवाको ‘उत्तराधिकारी’ बन्न कांग्रेसमा दौडधुप, आरजुको निर्णायक भूमिका

काठमाडौँ । विधानअनुसार अघि बढिएको भए अहिले नेपाली कांग्रेसभित्र जिल्ला अधिवेशनको चटारो हुने समय हो । कांग्रेसको विधानअनुसार प्रत्येक चार वर्षमा महाधिवेशन सम्पन्न गर्नुपर्छ । विशेष परिस्थितिमा एक वर्षको म्याद थप गर्न सकिन्छ । १४औं महाधिवेशन २०७८ मा सम्पन्न भएकोले १५औं महाधिवेशन २०८३ मंसिरभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । महाधिवेशनको तयारीबारे सार्वजनिक रूपमा केही गतिविधि देखिए तापनि पार्टीभित्र रणनीतिक दौडधुप र अनिश्चितता अझै बाक्लो छ । सभापति शेरबहादुर देउवाले विधानअनुसार अब नेतृत्वमा दाबी गर्न नपाउने भएपछि पार्टीमा नयाँ नेतृत्वका लागि दौडधुम सुरु भइसकेको छ ।

नेतृत्वको होड

सभापति देउवाको कार्यकाल आगामी मंसिरमा सकिँदैछ। उनी पुनः उम्मेदवार बन्न नपाउने भएकाले पार्टीभित्र उनको उत्तराधिकारी को हुने भन्ने बहस व्यापक बनेको छ । विधानले दुई कार्यकालभन्दा बढी सभापति बन्न नदिने व्यवस्था गरेकाले देउवा समूहभित्र नयाँ नेतृत्व तय गर्ने चासो बढ्दो छ । पूर्वपदाधिकारीहरूको एउटा समूहले आफूहरूमध्येबाट एकजनालाई सभापतिमा अघि सार्न देउवालाई दबाब दिइरहेका छन् । तर देउवाले हालसम्म आफ्नो धारणा खुलासा नगरेकाले त्यो समूहमा नै असमञ्जसता देखिएको छ । खासगरी कोइराला परिवार र गैर–कोइराला समूहबीच सन्तुलन कायम गर्दै उत्तराधिकारी छनोट गर्नु देउवाका लागि चुनौती बनेको छ । यद्यपि देउवाले आफ्नो विश्वासपात्रलाई नेतृत्वमा ल्याउने प्रयास गरिरहेका छन् । 

सम्भावित सभापतिका दावेदारहरू :

गगन थापा

महामन्त्री गगन थापा युवा पुस्ताका लोकप्रिय नेता हुन् । उनले पार्टीभित्र सुधार र परिवर्तनको एजेन्डा अघि सारेका छन् । 

संसदीय दलको नेताका लागि देउवासँग प्रतिस्पर्धा गरेर आफ्नो प्रभाव देखाइसकेका थापा अहिले संस्थापन र संस्थपानइत्तर कुनै समूहमा पनि खुलेका छैनन् । पछिल्लो समय थापाले देउवासँग निकटता बढाएका कारण उनी संस्थापन पक्षको सम्भावित उम्मेदवारका रूपमा पनि हेरिएका छन् । यद्यपि देउवाले उनलाई पूर्ण समर्थन गर्ने वा नगर्ने भन्ने विषय अझै स्पष्ट छैन ।

शेखर कोइराला

कोइराला परिवारका प्रभावशाली नेता शेखर कोइराला पनि कांग्रेस सभापतिका बलिया दावेदार हुन् । उनले समयमै माहाधिवेश गर्नुपर्ने जोड दिदँै आएका छन् ।

१४औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका उनी हालसम्म संस्थापनइतर समूहको नेतृत्व गरिरहेका छन् । उनको संगठनात्मक क्षमता र पारिवारिक पृष्ठभूमिले उनलाई बलियो उम्मेदवार बनाउँछ । तर देउवाको समर्थन उनीतर्फ हुने सम्भावना न्यून छ ।

देउवा समूहका आकांक्षीहरू

संस्थापन इतर पक्ष सक्रिय भइरहँदा देउवा समूहभित्रै पनि नेतृत्वका आकांक्षीहरू अग्रसर छन् । देउवाका ११ निकट नेताहरूले फागुनमै उनलाई उम्मेदवार छान्न ध्यानाकर्षण गराएका थिए । अहिले सात नेताहरूको समूहले देउवालाई आफूहरूमध्येबाट एकजनालाई अघि सार्न दबाब दिइरहेका छन् । यस समूहमा डा. शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, कृष्ण सिटौला, विजय गच्छदार र डा. प्रकाशशरण महत छन् । यी सात भाइ साझा उम्मेदवार चयन गर्ने प्रयासमा छन्, तर हालसम्म सहमति जुट्न सकेको छैन । सात भाइको समूहमा देउवा टिमकै उपसभापति पूर्णबहादुर खड्का भने समावेश छैनन् । 

आरजु राणाको निर्णायक भूमिका

शेरबहादुर देउवाको उत्तराधिकारी छनोटमा उनको पत्नी डा. आरजु राणा देउवाको भूमिकालाई पनि निर्णायक रूपमा हेरिएको छ । देउवा आफ्नो राजनीतिक विरासत जोगाउने रणनीतिमा भएपनि आरजुलाई उपसभापति वा महामन्त्रीजस्ता महत्वपूर्ण पदमा समेट्नुपर्ने दबाब छ । त्यसैले विधान संशोधनमार्फत एक महिला उपसभापति थप्ने सम्भावनाबारे पनि छलफलमा भइरहेको बताइन्छ । आरजुका लागि टिम निर्माण गर्नु देउवा पक्षको रणनीतिक प्राथमिकता बनेको देखिन्छ । तर दोस्रो र तेस्रो पुस्ताका नेताहरूको महत्वाकांक्षा र संस्थापनइतर पक्षको दबाबका कारण यो योजना जटिल बन्दै गएको छ ।

कांग्रेसभित्र गुटबन्दी लामो समयदेखि रहँदै आएको समस्या हो । देउवाको नेतृत्वमा रहेको संस्थापन पक्ष र शेखर नेतृत्वको संस्थापनइतर पक्षबीचको प्रतिस्पर्धाले आगामी महाधिवेशनलाई थप पेचिलो बनाएको छ । यद्यपि देउवाले आफ्नो समूहलाई एकताबद्ध राख्न प्रयास गरिरहेका छन्, संस्थापनइतर समूहले बलियो उम्मेदवार अघि सार्न सकेमा देउवाको योजना प्रभावित हुन सक्छ । तर, विधान, समयतालिका र नेताहरूका आकांक्षाबीचको द्वन्द्वले १५औं महाधिवेशनलाई अझै अनिश्चित दिशातर्फ धकेलिरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update