News 24 Television
१७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन आइतबार सार्वजनिक गरेको छ । गत आ.व. ८१\८२ मा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको छ भने बजार भाउ पनि ४.०६ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रेमिट्यान्स १९ प्रतिशतले बढेको छ । 

नेपाल राष्ट्रबैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष ८१\८२ को वार्षिक तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत रहेको छ । आर्थिक वर्ष ८०\८१ मा आर्थिक वृद्धिदर आर्थिक वृद्धिदर तीन दशमलव ६७ प्रतिशत रहेको थियो । 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर बढ्दा मुद्रास्फिति भने घटेको छ । गत आवमा वार्षिक औसत मुद्रास्फीति चार दशमलव ०६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षको आर्थिक सूचकहरु सकारात्मक देखाएको छ । 

आ.व. ८०\८१ मा शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेकोमा गत आवमा पाँच खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, गत आ.व.मा आयात १३ दशमलव तीन प्रतिशत वृद्धि हुँदा निर्यात ८१ दशमलव आठ प्रतिशतले बढेको पनि राष्ट्र बैंकको वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख छ । 

उपभोक्ता मूल्य वृद्धिदर उच्च

आर्थिक वर्ष ८०\८१ मा उपभोक्ता मूल्यवृद्धि दर ५.४४ प्रतिशत रहेकोमा गत आवमा ४.०६ प्रतिशत कायम भएको छ । गत आ.व.मा खाद्य तथा गैरखाद्य वस्तुहरुमा मूल्यवृद्धि उच्च छ । आर्थिक वर्ष २०८१\८२ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि १०.७१, घ्यु तथा तेलको ८.७२, दाल तथा गेडागुडीको ७.९० रहेको छ ।

यस्तै, खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशत रहेको राष्ट्रबैंकले जनाएको छ । यस्तै, गैरखाद्य तथा सेवा समूहअन्तर्गतका वस्तु तथा तथा सेवा उप–समूहको मूल्यवृद्धि ९.३९, कपडाजन्य तथा जुत्ता चप्पलको ६.०९, मदिराजन्य पेय पदार्थको ५.६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ४.७८ प्रतिशत रहेको छ । 

रेमिट्यान्स १९ प्रतिशतले बढी

आर्थिक वर्ष ८०\८१ को तुलनामा गत आर्थिक वर्षमा रेमिट्यान्स १९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष ०८१\८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ ।

आर्थिक वर्ष ०८०\८१ मा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । रेमिट्यान्सले भने हरेक महिनाजसो नयाँ रेकर्ड बनाउने गरेको छ । गत आ.वमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा वृद्धि भएसँगै रेमिट्यान्स पनि बढेको हो । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि ५ लाख ५ हजार ९ सय ५७ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए भने ३ लाख ३३ हजार ३ सय ९ पुनः श्रम स्वीकृति लिएका थिए । 

शिक्षाका नाममा १ खर्ब ३८ अर्ब बाहिरियो

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १९ प्रतिशतले रेमिट्यान्स बढ्दा शैक्षिक प्रयोजनका लागि मुलुकबाट १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष १२ अर्ब बढीले पढ्न जाने विद्यार्थीले विदेश पैसा लगेको राष्ट्र बैंकले जनाएको छ । एजुकेशन भिसाका साथै भिजिट भिसामा विदेश जानेले पनि गत आ.व.मा ८५ अर्ब २४ करोड रुपैयाँ विदेशमा खर्च गरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update