
काठमाडौँ । नेपालमा कोरियन कम्पनीले हरित हाइड्रोजन र फ्युल सेल प्लान्ट स्थापना गर्ने भएको छ । यसका लागि लगानी बोर्ड नेपाल र दक्षिण कोरियाको जी–फाइलोस को–अपरेटिभ लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा दुई पक्षबीच विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी गर्न सहमति भएको हो । यो परियोजना सफल भएमा नेपालमा पहिलोपटक हरित हाइड्रोजन उत्पादन र फ्युल सेल प्रविधि भित्रन सक्नेछ ।
सम्झौताअनुसार कोरियाली कम्पनीले प्रविधि, अनुभव र लगानीका सम्भावनाहरु प्रश्तुत गर्नेछ भने लगानी बोर्ड नेपालले आवश्यक नीतिगत तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ । हरित हाइड्रोजनलाई भविष्यको शुद्ध उर्जा स्रोत मानिँदै आएको छ, जसले नेपालमा नवीकरणीय ऊर्जाको दायरा थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।
यस परियोजनाले नेपालमा वातावरणमैत्री उद्योग विस्तार, रोजगार सिर्जना र दिगो उर्जा सुरक्षामा योगदान पुर्याउने विश्वास गरिएको छ ।
लगानी बोर्डका अनुसार फिलोसले सात अर्ब बढी लगानीको प्रश्ताव गरेको छ । जसमा कम्पनीले ग्रिन हाइड्रोजन अध्ययन लगायतका काम गर्नेछ । कम्पनीले २० मेगावाट क्षमताबाट हाइड्रोजन उत्पादन शुरु गर्नेछ ।
कम्पनीले कहाँ प्लान्ट बनाउने यकिन भइसकेको छैन । ग्रिन हाइड्रोजन प्लान्ट स्थापनाका लागि आएको यो पहिलो विदेशी लगानीसम्बन्धी प्रस्ताव हो । उक्त प्लान्टले नेपालको खेर जाने जलविद्युत्बाट प्रयोग गरी इलेक्ट्रोलाइसिस विधि (पानी र विद्युतको रासायनिक प्रक्रिया) मार्फत हरित हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखेको छ ।
उत्पादित ग्रिन हाइड्रोजनलाई स्टिल तथा मल उद्योग, अमोनियम नाइट्रेट उत्पादन एवं भण्डारणमा गर्न सकिनेछ ।
जेठ १३ मा बसेको लगानी बोर्डको ६३ औँ बैठकले उक्त कम्पनीलाई नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको पाइलट प्लान्ट र फ्युल सेल प्लान्ट स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययनको अनुमति दिएको थियो ।
एमओयु कार्यक्रममा लगानी बोर्डका सीईओ सुशील ज्ञवाली, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतको उपस्थिति रहेको थियो ।