
मकवानपुर । बागमती प्रदेशमा साउन महिनादेखि अहिलेसम्म केवल साढे एक महिनामै लम्पी स्किन रोग संक्रमण फैलिन थालेको छ । दुईवर्ष अघि माहामारीकै रुपमा फैलिएको पशुचौपायामा लाग्ने लम्पी स्किन रोग यस आर्थिक वर्षको शुरुवातसँगै बागमती प्रदेशका चार जिल्लाहरुमा देखिए पछि अहिले प्रदेश सरकार संक्रमण नियन्त्रणको अभियानमा छ ।
अघिल्लो वर्ष लम्पी स्किन रोग विरुद्धको खोप लगाउने बेला उमेर नपुगेर खोप छुटेका गाईभैँसीमा लम्पी स्किन रोगको संक्रमण बढ्दो क्रममा देखिएको छ । गाईभैँसीलाई ज्वरो आउने, शरीरको छालामा गाँठागुँठी देखिने, सुन्निने र पाक्ने जस्ता समस्या देखिन थालेसँगै बागमती प्रदेशमा यसको नियन्त्रणका लागि अभियान थालिएको छ ।
२०८० सालमा यही रोगका कारण ठुलो क्षति व्यहोरेको बागमती प्रदेशमा लम्पीको संक्रमण फैलन नदिन बागमती प्रदेश सरकार संक्रमण नियन्त्रणमा जुटेको हो । प्रदेशका १३ जिल्लाका गाईभैँसीलाई लम्पी विरुद्धको खोप लगाउन बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तहहरुसँगको समन्वयमा सप्ताहव्यापी अभियान नै सञ्चालन गर्यो । तर, एक हप्ताले मात्रै नपुगेपछि खोप भ्याक्सिनेटरहरुले अहिलेसम्म पनि खोप लगाइरहेका छन् । यसले किसानलाई केही राहतको महशुस गराएको छ ।
रोग फैलन सक्ने कुरालाई ध्यानमा राखेर स्थानीय तहमा कार्यरत पशु प्राविधिकहरुको रहोवरमा निः शूल्क औषधिउपचार तथा रोग नलागेको क्षेत्रमा प्रदेश सरकारले उपलब्ध गराएको खोप लगाइएको मनहरी गाउँपालिकाका पशु विकास अधिकृत प्रदिप बर्तौला बताउँछन् ।
त्यसोत, लम्पी स्किन रोग विरुद्धको सप्ताहव्यापी खोप अभियानमा प्रदेशका १३ जिल्लामा ९६ हजार ३ सय ४७ गाईभैँसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तथ्यांक छ ।
अभियानभर प्रदेशका १३ जिल्लामध्ये मकवानपुरमा २४ हजार ६ सय ९५ डोज खोप लगाएको तथ्यांक छ । यो अरु जिल्लाको तुलनामा सबैभन्दा धेरै हो ।