News 24 Television
कृषि एम्बुलेन्सले पोखराका किसान मख्ख, बारीबाटै तरकारी किन्ने महानगरको योजना 

कास्की । पोखराको बजारमा एउटा यस्तो अनौठो किसिमको एम्बुलेन्स दौडिन्छ, जसले कहिल्यै पनि बिरामी बोक्दैन । यो एम्बुलेन्सले किसानको खेतबारीसम्म पुगी उत्पादनलाई बजारमा ल्याएर बिक्रि गरिदिन्छ । कृषि एम्बुलेन्सका रुपमा परिचित यो एम्बुलेन्सबाट हुने ढुवानी पूर्ण निशुल्क हो भने उत्पादन बिक्रिबाट आउने रकम सिधै किसानको हातमा पर्छ । 

दिनभरि व्यस्त हुने कृषि एम्बुलेन्स अहिले पोखरामा किसानको बलियो सारथी बनिरहेको छ । कृषि उपजमा विचौलियाका रजगजका कारण किसानहरुले आफ्नो उचित मूल्य नपाएको गुनासो चौतर्फि छ । किसानले उत्पादन गरेको बालीमा विचौलियाको जालो तोड्ने उद्देश्यले किसानको उत्पादन सिधै बजारमा र बजारको मुल्य सिधै किसानको हातमा पु¥याउन पोखरा महानगर जुटेको छ । यहि उद्देश्य अनुरुप पोखरा महानगरले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । 

यो एम्बुलेन्सले किसानको खेतबारीसम्म पुगी उत्पादनलाई बजारमा ल्याएर बिक्रि गर्छ । कृषि एम्बुलेन्सबाट हुने ढुवानी पूर्ण निशुल्क हो भने उत्पादन बिक्रिबाट आउने रकम सिधै किसानको हातमा पर्छ । यता गाउँगाउँमा उत्पादन अर्गानिक तरकारी कृषि एम्बुलेन्सको सहायताले सिधै बजार आउने हुँदा त्यसको खरिद गर्नका लागि उपभोक्ताहरु पनि तँछाडमछाड गर्दै आउँछन् । गाउँका साना किसानलाई कृषि एम्बुलेन्स हितकारी भएको तरकारी खेतीमा लाग्नेहरु बताउछन् ।

केही समय अघिसम्म घरमा खाएर बचेको तरकारी मलखादमा फाल्नेको विकल्प थिएन । अहिले किसानले त्यसैको पनि पैसा पाएका छन् । गाउँमै आएर एम्बुलेन्सले मूल्य पनि उचित दिएको कृषक बताउछन् । तरकारी बेचेर पाएको मूल्यले घरखर्च र छोराछोरी पढाउन खर्चको जोहो भएको छ । 

कृषि एम्बुलेन्स आएपछि गाउँघरमा कृषकले आय आर्जन मात्र गरेका छैनन्, व्यवसायीकता पनि सिकेका छन् । निर्वाहमुखी कृषि कर्म गरेकालाई मात्रै होइन व्यवसायी किसानले पनि राहतको महसुस गर्दैछन् । 

एम्बुलेन्स नहुँदा खेतबारीमा फलाएका कृषि उपज आफैंले बोकेर पोखरा बजार पु¥याउदाको दुख व्यवसायीक रुपमा कृषि गरेका किसानको दुःख पनि एम्बुलेन्स सञ्चालन भइसकेपछि हट्दै गएको छ । 

यसअघि होलसेल व्यापारीले आफुलाई चाहिएको मात्र कृषकबाट खरिद गर्दा किसानको तरकारी नविक्ने समस्या थियो । अहिले उत्पादन भएको सबै तरकारी एम्बुलेन्सले लैजाने गरेको छ । यसले किसानलाई आत्मस्वाभिमान मिलेको छ । 

उत्पादनले बजार पाउन सजिलो भएको महसुस गरेपछि किसानले खेती गर्ने क्षेत्रफल विस्तार गरिरहेका छन् । कृषि अनुदान वास्तविक किसानको घरसम्म पुग्न नसकिरेको अवस्थामा सरकारले ‘उत्पादनमा आधारित’ अनुदान उपलब्ध गराउनुपर्ने माझठानाका किसानको सुझाव छ । गाउँमा कृषि प्राविधिक र गुणस्तरीय विउँको भने कृषकलाई समस्या छ । 

कृषि एम्बुलेन्सले तरकारी फल्ने पोखराका गाउँ–गाउँ पुगेर साना कृषि उपज ल्याएर बिक्री गर्छ । सहरी वडामा बिक्री केन्द्र छन् । बार अनुसार तालिका बनाएर संकलन हुन्छ । 

पोखरा महानगरले साढे ३५ लाख रुपैयाँ लगानी गरेर भित्र्याएको कृषि एम्बुलेन्सले किसान र उपभोक्ताबीचको दूरी घटाइदिएको छ । कृषि एम्बुलेन्समा तरकारीलाई बिग्रन नदिन चिस्यानको सुविधा भएकाले बजारसम्म पुग्दा तरकारी बिग्रदैन । कृषि एम्बुलेन्स सञ्चालन गर्न नगरपालिकाले एक जना चालक र सहयोगीको व्यवस्था गरेको छ । 

किसानसँग संकलन गरेको मूल्यमा २० प्रतिशत बढाएर उपभोक्तालाई कृषि उपज विक्री गरिन्छ । महानगरपालिकाले तोकिदिएको न्यूनतम् समर्थन मूल्यभन्दा कममा बेच्नुपर्दा क्षतिपूर्ति दिने व्यवस्था महानगरले गरेको छ । स्वदेशी उत्पादन बढाएर आत्मनिर्भर बन्ने महानगरको यो प्रयासले जनताको मत जितेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update