News 24 Television
डीपीआरकेको ७७ औं स्थापना दिवस : काठमाडौंमा शुभकामना आदान-प्रदान

काठमाडौँ । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डीपीआरके) को ७७ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा समेत शुभकामना आदान प्रदानसहित शुभेच्छा प्रकट गरिएको छ । इन्टरनेश्नल लिग अफ सोसलिस्ट युथ (आईएलएसए) ले यस अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि शुभकामना व्यक्त गरेको हो । 

डीपीआरकेको ७७ औं स्थापना दिवसको अवसरमा शुभकामना दिदै कोरियाली जनतामा शुभेच्छा प्रकट गरिएको हो । यस अवसरमा (आईएलएसए) का अध्यक्ष सुवोधराज सेर्पालीले कोरियाको विजयी गाथाको प्रसंशा गरे । अध्यक्ष सेर्पालीले भने, ‘कोरियाली जनताले न्यायको लडाईबाट विजय प्राप्त गरेपश्चात डीपीआरकेले आफ्नो ऐतिहासिक स्थापना गर्यो । साम्राज्यवादविरुद्ध डटेर लडेको कोरियाले बन्दुकसँगको लडाई बन्दुकबाटै गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्दै आफुलाई अहिले शक्तिशाली राष्ट्रको रुपमा विकास गरेको छ । अनेकौं नाकाबन्दी र प्रतिबन्धको सामना गर्दै अघि बढिरहेको डीपीआरके समाजवादी मुलुकहरुका लागि समेत उदाहरण बनेको छ ।’ 

Content-1756910393.jpeg
 

डीपीआरके स्थापनाको ७७ औं वर्षका अवसरमा कोरिया मामलाका जानकार फणिन्द्र पन्तले कोरियाको स्थापना, कोरियाली जनताको त्याग, किम इल सु को गौरवपूर्ण संघर्षको बारेमा प्रष्ट पारेका थिए । 

यस्तै, कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू कठिन परिस्थितिमा समेत डीपीआरकेको भ्रमणमा गएको र एकता–शान्तिको अपिल गरेको स्मरण गरे । ‘डीपीआरकेको भ्रमणको तयारी चल्दै गर्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीदेखि नेपालमा रहेका जापानी र अमेरिकी राजदूतले नजान धम्की दिएपछि मैले रोकेर देखाउन चुनौति दिएँ । मेरो भ्रमण शान्ति र सह–अस्थित्वका लागि थियो ।’ अध्यक्ष नेपालले भने ।

यसैगरी, नेकपा मालेका महासचिव सीपी मैनालीले समेत डीपीआरकेको ७० औं स्थापना दिवसको अवसरमा शुभकामना दिए । कोरियाली जनताको त्याग र समर्पणको सराहना गरेका मैनालीले पटक–पटक डीपीआरकेको भ्रमण गरेको अनुभव सुनाउँदै संस्थापक नेता किम इल सु लाई स्मरण गरे । डीपीआरके स्थापनाको ७० वर्ष प्रवेश गरेको अवसरमा (आईएलएसए) ले आफ्नो संस्थाको तर्फबाट सोलिडारिटी सन्देश समेत पठाउने निर्णय गरेको छ । सोलिडारिटी सन्देश कोरियाली जनतासँग मित्रता र ऐक्यबद्धताका लागि एशिया प्रशान्त क्षेत्रिय समितिका सचिवालय सदस्य फणिन्द्रराज पन्तले सम्बन्धित ठाउँमा  पुर्याउनेछन् । 

कार्यक्रममा वरिष्ठ पत्रकार राजन कार्कीदेखि नेपालका विभिन्न समाजवादी तथा वामपन्थी दलका युवा नेताहरुको उल्लेख्य सहभागीता रहेको थियो । डीपीआरकेको स्थापना दिवसको अवसरमा विभिन्न राजनीतिक दलका भातृ संगठनका नेताहरुले समेत शुभकामना सन्देश दिएका थिए ।
 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update