News 24 Television
शक्ति प्रदर्शनको चिनियाँ सन्देश : अमेरिकालाई चुनौती, नेपाललाई पाठ

काठमाडौँ । ‘आधा विश्वलाई साक्षी राखेर चीनले ८० वर्षमा हासिल गरेको वैभव देखायो । हाम्रा प्रधानमन्त्रीले हेर्नुभयो,’ लेखक धनराज वास्तविकले फेसबुकमा चिनियाँ शक्ति प्रदर्शनको तस्वीर हाल्दै लेखेका छन्, ‘नेकपालाई व्यक्तिगत सम्पत्ति नठानेर काम गरेको भए देशले नयाँ गति लिइसकेको हुन्थ्यो । अनि किम, पुटिनको स्थान पाउनलाई असंलग्न नीतिले दिन्छ त ?’ प्रधानमन्त्री केपी ओली यतिखेर चिनियाँ वैभव तथा शक्ति र समृद्धि नजिकबाट नियालेर भर्खरै स्वदेश फर्किएका छन् । छिमेकमा भएको यो द्रूत एवं चामत्कारिक प्रगतिबाट नेपालले के सिक्ने ? हाम्रा प्रधानमन्त्रीले गफ मात्रै लाएर बस्ने कि केही दीर्घकालीन महत्वका कदमहरु चाल्ने ? अहिले बहस र विश्लेषणको विषय बनेको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जङ–अनसहित २६ देशका नेताहरूलाई साक्षी राखेर चीनको राजधानी बेइजिङमा भव्य सैन्य परेड सुरु हुनुअघि राष्ट्रपति सी चिनफिङले चीन ‘अवरोधनीय’ भएको र धम्की दिनेहरूसँग ‘कहिल्यै नडराउने’ घोषणा गरे । चीनले यस परेडमा पहिलोपटक लेजर हतियार, परमाणु अस्त्र बोक्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र र पानीमुनि प्रयोग गरिने विशाल ड्रोनहरू जस्ता नयाँ हतियारहरू प्रदर्शन गरेको छ । यसले आफूले बनाएको र १२ वटासम्म युद्धशीर्ष बोक्न सक्ने अन्तरमहादेशीय परमाणु ब्यालिस्टिक क्षेप्यास्त्रको नयाँ संस्करण पनि देखाएको बिबिसीले जनाएको छ । ओली समेत सहभागी भएको यो सैन्य परेडलाई चीनले ताइवानमाथि आक्रमण गर्ने महत्त्वाकांक्षाको संकेत र महाशक्ति राष्ट्र अमेरिकालाई दिइएको चुनौतीका रूपमा समेत विश्लेषण भइरहेको छ ।

हरेक उच्चस्तरीय भ्रमणमा चर्चामा रहने बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन अघि बढाउनका लागि यसपटक ओलीले पुनः चीनसँग आग्रह गरे । राष्ट्रपति चिनफिङसँगको भेटवार्ताका क्रममा ओलीले नेपालको विकासमा चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताउँदै अहिले चीनसँगका अवरुद्ध नाकाहरु सञ्चालन गर्न पहल गरिदिन आग्रह गरेको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले बताए । जवाफमा चिनियाँ राष्ट्रपति चिनफिङले नेपाललाई भूपरिवेष्ठितबाट जमिनको माध्यमले ठूला बजारमा पहुँच विस्तार गर्ने देशको रुपमा विकसित भएको हेर्न चाहेको बताए ।

चीनमा नेपालको तर्फबाट ठूलो मात्रामा निर्यात बढाउन गुणस्तरीय कृषियोग्य वस्तु उत्पादन तथा नेपालमा औद्योगिक विकास गर्नका लागि चीनको सहयोग रहने विश्वास समेत चिनफिङले दिलाए ।  चीनले विगत केही दशकमा हासिल गरेको अभूतपूर्व आर्थिक समृद्धिबाट नेपालले धेरै महत्त्वपूर्ण पाठ सिक्न र लाभ लिन सक्छ भन्नेमा कसैको दुईमत छैन । यसका लागि यी ६ विषयमा नेपालले ध्यान दिन जरुरी छ -

१. पूर्वाधार विकासमा जोड

चीनले पूर्वाधारमा गरेको लगानी अतुलनीय छ । सडक, रेलमार्ग, विमानस्थल र बन्दरगाहहरूको सञ्जालले देशभरि उत्पादन र व्यापारलाई सहज बनाएको छ । नेपालको लागि यो सबैभन्दा ठूलो शिक्षा हो । भौगोलिक रूपमा विकट नेपालमा आर्थिक विकासका लागि उत्कृष्ट सडक सञ्जाल, जलमार्ग र विमानस्थलको निर्माण अत्यावश्यक छ । यसले कृषि उपजलाई बजारसम्म पुर्याउन, पर्यटन प्रवद्र्धन गर्न र वैदेशिक लगानी आकर्षित गर्न सघाउँछ ।

२. औद्योगिकीकरण र निर्यात प्रवद्र्धन

चीनले सुरुमा आफ्नो सस्तो श्रमशक्तिको उपयोग गरेर औद्योगिक उत्पादन बढायो र निर्यातमा जोड दियो । नेपालले पनि श्रम–सघन उद्योगहरू (जस्तैः कपडा, हस्तकला, कृषि प्रशोधन) मा लगानी बढाउन सक्छ । यसो गर्दा रोजगारी सिर्जना हुन्छ र निर्यातबाट विदेशी मुद्रा आर्जन हुन्छ । 

३. कृषि क्षेत्रको आधुनिकीकरण

चीनले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन बढाएको छ । नेपालले पनि परम्परागत खेती प्रणालीलाई त्यागेर आधुनिक प्रविधि, उन्नत बीउ र सिँचाइको व्यवस्थापनमा ध्यान दिनुपर्छ । कृषिमा आत्मनिर्भर हुन र व्यावसायिक कृषि विकास गर्न सकेमा ठूलो जनसंख्यालाई गरिबीबाट बाहिर निकाल्न सकिन्छ ।

४. विदेशी लगानी आकर्षित 

चीनले विदेशी लगानीका लागि ‘स्पेसल इकोनोमिक जोन’ (क्भ्श्क) को स्थापना गर्यो र लगानीकर्तालाई कर छुट तथा अन्य सुविधा दियो । नेपालले पनि यस्तै किसिमका विशेष आर्थिक क्षेत्रहरू (क्भ्श्क) स्थापना गरेर विदेशी लगानी भित्र्याउन सक्नुपर्छ । 

५. मानव संसाधनमा लगानी

चीनले शिक्षा र स्वास्थ्यमा ठूलो लगानी गर्यो, जसले दक्ष जनशक्ति उत्पादन गर्यो । नेपालले पनि गुणस्तरीय शिक्षा र प्राविधिक तालिममा लगानी बढाउनुपर्छ । युवाहरूलाई व्यावसायिक र प्राविधिक शिक्षा दिएर स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ प्रेरित गर्नुपर्छ ।
 
६. भ्रष्टाचार नियन्त्रण र सुशासन

चीनमा आर्थिक विकाससँगै भ्रष्टाचार नियन्त्रणमा पनि कडाई गरिएको छ । नेपालमा विकासका परियोजनाहरूमा हुने भ्रष्टाचारले गर्दा देशले अपेक्षित लाभ पाउन सकेको छैन । नेपालले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणमा शून्य सहिष्णुताको नीति अपनाउनुपर्छ । यसले विकासका लागि छुट्याइएको रकमको सदुपयोग सुनिश्चित गर्छ ।

समग्रमा, चीनको विकास मोडलको मुख्य सार भनेको दृढ राजनीतिक इच्छाशक्ति, दीर्घकालीन योजना र त्यसको सफल कार्यान्वयन हो । नेपालले पनि यी पक्षहरूमा ध्यान दिएर आफ्नो आर्थिक विकासको यात्रालाई गति दिन सक्नुपर्छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update