
काठमाडौं । नेपालले बंगलादेशसँगको दुई वटा मैत्रीपूर्ण खेल शनिवार र आगामी सेप्टेम्बर ९ तारिखमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्दैछ । लामो समयपछि आमनेसामने हुन लागेका यि टोलीहरुको तयारी के कस्तो छ त ?
लामो समयको अन्तरालपछि नेपालले बंगलादेशसँगको दुई वटा मैत्रीपूर्ण खेल खेल्दैछ । शनिवार र आगामी सेप्टेम्बर ९ तारिखमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको खेललाई उत्साहका साथ हेरिएको छ । खेलबारे प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले आफ्नो प्रतिद्वन्द्वी बंगलादेश बलियो टोली रहेको र यो खेलका लागि उत्साही रहेको बताएका छन् ।
शुक्रवार भएको पत्रकार सम्मेलन नेपालका कप्तान तथा गोलकिपर चेम्जोङले जहिल्यै पनि बंगलादेशसँग खेल्दा प्रतिष्पर्धात्मक खेल हुने गरेको बताए । तर आफूहरू पनि शनिवार हुने खेलका लागि आफूहरू तयार रहेको उनको भनाइ छ । विपक्षी यस्तो छ भनेर आपूm रेट गर्न नचाहने र तर बंगलादेशसँग खेल्दा राम्रो प्रतिष्पर्धा हुने उनको विश्वास छ । उनले बंगलादेश बलियो टोली रहेको र प्रतिस्पर्धात्मक खेल हुने आशा व्यक्त गरेका छन् । पछिल्लो दुई वर्ष घरेलु मैदानमा फुटबल खेल्न नपाउनु दुःखद् पक्ष रहेको उनको भनाइ छ । यद्दपि, लामो समयपछि यो मैदानमा फर्किदा समर्थकका लागि सुखद् पक्ष रहेको र सोहीअनुरूप नतिजा ल्याउने उनले आशा व्यक्त गरेका छन् ।
शनिबार हुने खेलमा हाम्जा चौधरी जस्ता खेलाडी नभए पनि बंगलादेश बलियो टोली रहेको छ । नेपालका समर्थक पनि हाम्जालाई हेर्न प्रतीक्षामा रहे पनि त्यो सम्भव हुन नसकेको हो । इङ्लिस प्रिमियर लिग (इपिएल) को पूर्वक्लब लेस्टर सिटीका स्टार हाम्जा चोटका कारण टोलीमा आबद्ध हुन नसकेका हुन् । बंगलादेश राम्रो टोली रहेको र तयारी पनि प्रभावकारी रूपमा गरेको टोली हो । त्यसैले पनि बंगलादेशसँग सजक भएर खेल्नुपर्ने देखिन्छ । यद्दपि, नेपाली टोली पर्याप्त प्रशिक्षण प्राप्त नभएको टिप्पणी भइरहेका छन् ।
तरपनि टोलीको तयारी राम्रो रहेको र घरेलु मैदानमा खेल्न पाउँदा एकदमै खुसी रहेको कप्तान चेमजोङ बताउँछन् । फिफा इन्टरनेशनल विन्डोमा नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो खेल मंगलबार हुनेछ । यी खेललाई दुवै टोलीले एएफसी एसियन कप छनोटका बाँकी खेलको तयारीका रुपमा लिएको छ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको प्रतिस्पर्धामा नेपालले अक्टोबर महिनामा भियतनामसँग ‘होम एन्ड अवे’ र मलेसियासँग ‘अवे’ लेग खेल्ने तालिका छ ।
नेपालका मुख्य प्रशिक्षक म्याट रसका लागि यो पाँचौं खेल हो । उनै रसले बंगलादेशविरुद्ध सकारात्मक नतिजा ल्याउने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन् । उनले आफू र आफ्नो टोलीको लक्ष्य जसरी पनि जित निकाल्ने लक्ष्यमा हुने बताए । प्रशिक्षक रसले आफ्नो फिलोसफी नेपाली फुटबल समर्थकले पहिलो चार खेलमै थाहा पाइसकेको उनको भनाई छ ।
राष्ट्रिय टोलीका उदीयमान स्टार कृतिशरत्न छुन्जु, आयुष घलान र सुमित श्रेष्ठ यो टोलीमा छैन । यी तीनै खेलाडी एएफसी यु–२३ एशियन कप छनोटका लागि ताजकिस्तानमा छन् । नेपालले तीन वर्षअघि पनि बंगलादेशसँग खेलेको थियो । दशरथ रंगशालामा नै भएको पछिल्लो भेटमा नेपालले बंगलादेशमाथि ३–१ को जित हासिल गरेको थियो । तर, पछिल्लो समय बंगलादेश धेरै बलियो हुँदै आएको छ ।