News 24 Television
तीन दिनपछि निभाइँदै यातायात र सडक विभाग भवनको आगो

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात विभागको भवनमा लागेको आगो दमकलको सहयोगमा निभाउन थालिएको छ । ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा मङ्गलबार यी दुई विभागका भवनमा पनि आगजनी गरिएको थियो ।

    मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले मन्त्रालयको भवनमा खासै क्षति नभए पनि मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात विभाग भने जलेर सखाप भएको जानकारी दिए । “अहिले पनि यी भवनभित्र आगो बलिरहेको छ । ललितपुर महानगरपालिकाको दमकल ल्याएर आगो निभाउने प्रयास भइरहेको छ,” उनले भने, “भवन मात्रै होइन गाडीहरू पनि जलेका छन् । कति गाडी जले र भवनको क्षति कति भयो भन्ने विवरण आइसकेको छैन ।”

    प्रवक्ता अधिकारीका अनुसार क्षतिको विवरण छिट्टै सङ्कलन हुनेछ । सिंहदरबारका कलात्मक प्राशासनिक भवनहरू आगलागीका कारण खरानीमा परिणत भएका छन् । प्रदर्शनकारीले सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका विभिन्न मुख्य सरकारी संरचनामा आगजनी गरेका थिए । 

    सिंहदरबार पुगेका कर्मचारीले जलेका भवनको सरसफाइ गर्न थालेका छन् । मुख्य सचिव एकनारायण अर्यालले आजै जलेका भवनको स्थलगत अवलोकन गरेका थिए । प्रदर्शनकारीले सरकारी भवन र कार्यालयलाई निसाना बनाउँदा अपूरणीय भौतिक क्षति भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ । - रासस

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update