News 24 Television
आपूर्ति शृङ्खला खल्बलिन नदिन आग्रह

काठमाडौँ । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले आपूर्ति शृङ्खला खल्बलिन नदिन आग्रह गरेको छ । आज सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आपूर्ति व्यवस्थामा सहज वातावरण तय गर्नका लागि आग्रह गरेको हो । अहिलेको जटिल अवस्थामा व्यावसायिक कर्तव्यबोधका साथ अघि बढ्न र अत्यावश्यकीय वस्तुको आपूर्ति शृङ्खला खल्बलिन नदिन सम्पूर्ण सदस्य तथा गैरसदस्य व्यवसायीलाई सङ्घले आग्रह गरेको छ ।  

    सङ्घले यसमा समन्वय र सहजीकरण गरिदिन सरोकारवालालाई आग्रह गरेको छ । सम्पूर्ण सरकारी निकाय र कार्यालय तत्कालै काममा फर्किंदा सहजीकरणको वातावरण बन्ने सङ्घको अपेक्षा छ । 

    सङ्घले अर्थतन्त्रको चालक शक्ति निजी क्षेत्रका व्यावसायिक गतिविधि भयरहित वातावरणमा निर्धक्कसँग चल्न नसकेमा अर्थतन्त्रमा थप समस्या आउने भन्दै चिन्ता जनाएको छ । आमसर्वसाधारण तथा उद्यमी व्यवसायीले निर्वाध रूपमा पेसा व्यवसाय गर्न सक्ने वातावरण निर्माणको लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन सङ्घको आग्रह रहेको छ ।

    सङ्घका महासचिव जयन्तकुमार अग्रवालले निषेधाज्ञा एवं कफ्र्यूका बेला अत्यावश्कीय सेवा दिने पेसाकर्मीको आवतजावत तथा औषधि, खाद्यान्न, दूध, पानी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यकीय वस्तुको ओसारपसारमा सहजीकरण सम्बद्ध निकायलाई आग्रह गरेका छन् ।

    “परिस्थिति प्रतिकूल भए पनि हिम्मतका साथ गुणस्तरीय सामान नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिन सम्पूर्ण सदस्य तथा अन्य व्यवसायीमा सङ्घको अपिल छ । अत्यावश्यकीयलगायत अन्य सामान आयात निर्यातका लागि आवश्यक सुरक्षा प्रबन्ध गरी सम्पूर्ण भन्सार सम्पूर्ण नाका सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्दछौँ”, उनले भने, “राजनीतिक स्थिरता कायम गर्न र यस्ता अप्रिय घटना दोहोरिन नदिन युवा पिढीको चाहना अनुरूप सुशासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेसा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चिततासँगै लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण तयार गर्नुपर्छ ।”

    सङ्घले सुशासन र समृद्धिको दिशामा सरकोकारवाला पक्षसँग समन्वय र सहकार्य गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरेको छ । देशका लागि अझ बढी वित्तीय स्रोत र अझ बढी रोजगारी आवश्यक परेको यो अवस्थामा नियमित रूपमा उद्यम व्यवसाय चल्ने वातावरणको निम्ति अपरिहार्य शान्ति सुरक्षाको प्रबन्ध यथाशीघ्र मिलाउन सङ्घ सम्बद्ध सबै पक्षलाई सङ्घले अपिल गरेको छ । 

    व्यावसायिक एवं व्यक्तिगत सम्पत्ति सुरक्षाको ग्यारेन्टी भएको अवस्थामा मात्रै युवा पुस्ताले चाहेको सुशासन, बेथितिको अन्त्य र समृद्धि हासिल गर्न सकिने भन्दै सङ्घले सम्बन्धित सबैको ध्यानाकर्षण गरेको छ । प्रदर्शनका क्रममा उद्यमी, व्यवसायी, उद्योग, प्रतिष्ठान, तिनका कार्यालय एवं निवासलाई तोडफोड एवं आगजनीको निशाना बनाइएबाट उद्यमी व्यवसायी अभूतपूर्व रूपमा भयभीत भएको सङ्घको भनाइ छ । यस्ता घटनाबाट दीर्घकालसम्म व्यवसायमा हुने स्वदेशी र विदेशी लगानी प्रभावित हुने र समृद्धिको यात्रामा अवरोध आउने सङ्घको ठहर छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update