News 24 Television
प्रधानमन्त्री कार्कीको प्रश्न- सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ?

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अत्यन्त आवश्यक संस्थाहरु छानीछानी आगजानी गरिएको बताएकी छन् ।

सिंहदरबारमा आईतवार प्रधानमन्त्रीको पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा उनले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आजगानी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएको बताइन् । यो देखेर आफूलाई लाज लागेको उनकाे भनाइ छ । नेपाली भएर कसैले यस्तो काम गर्छ ? भन्ने उनको प्रश्न छ ।

सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ? प्रश्न गर्दै उनले यसप्रकारको घटना पहिलोपटक भएको पनि बताइन् । उनले पूर्वतयारीअनुसार नै यस किसिमको घटना भएको आशंका गरिन्। उनले भौतिक क्षतिलाई बनाउन सकिए पनि महत्वपूर्ण दस्तावेजहरु अब पाउन नसकिने भन्दै आगजानी गर्नेलाई कारबाहीको दायरमा ल्याउने पनि जानकारी दिइन् ।

उनले भनिन्, ‘यो मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरु छ, त्यसमा छानी छानी प्रहार भएको छ । प्रहरीहरु सुरक्षाको लागी अनिवार्य थिए, तिनलाई प्रहार भयो, ती विटहरु, प्रहरीको चौकी थानाहरु जले । अदालतका फाईलहरु सम्पूर्ण नष्ट भएर गयो । हाम्रै सिंहदरबारभित्रका पनि कयौँ त्यस्तो पुराना फाईलहरु थिए, ती नष्ट भएर गए । बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरु यो देशको, जसले चाहीँ शासन चलाएको छ, ती भवनहरु, ती मिसिल, कागजहरुबाट त्यो हाम्रो नष्ट भयो । मलाई यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ? मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला भत्काउला बेग्लै कुरा भयो तर यो घटना त मलाई लाग्छ देशमा नै पहिलो पटक भएको हो । यस किसिमबाट अहिले हाम्रो संस्थाहरु अनुहार देखाउन नसक्ने अवस्था बनाएर क्षति गरेको छ । मलाई लाग्छ, यो पूर्वतयारीअनुसार षड्यन्त्र नै भएको हो की भन्ने लाग्छ । यो अनुसन्धान हुन बाँकी छ । अनुसन्धान गरेर यसरी प्रहार गर्नेहरुलाई, नोक्शान गर्नेहरुलाई अपरिहार्य वस्तुलाई माटोमा मिलाउने काम गरिएको छ । त्यसलाई छोड्नुपर्ने अवस्था छैन । यसको कारबाही हुनुपर्छ ।’ 

प्रहरीका बिटहरु, सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, सिंहदरबार लगायतमा लगाइएको आगोले सम्पूर्ण नष्ट भएर देश शुन्यमा पुगेको उनकाे भनाइ छ । जेन जी नामका आन्दोलनमा भदौ २४ गते प्रर्दशनकारीहरुले विभिन्न सरकारी संस्था, राजनितिक दलका पार्टी कार्यलय, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिका घरहरुमा आगजानी गरेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update