News 24 Television
जेन-जीले हल्लायो खेल क्षेत्र, विश्वजगत नै त्रसित

काठमाडौं । जेन—जीको आन्दोलनले उग्र रूप लिँदा देशका धेरै सरकारी र निजी क्षेत्रका संरचना आगोले डढेर खरानी बनेका छन् । यो घटनाले कति मात्रामा क्षति भयो भनेर अहिले नै तथ्यांक आउने अवस्था छैन । यि घटनाले केवल संरचना मात्रै सखाप पारेन जताततै नमिठा प्रभाव छोड्यो । अहिले खेल क्षेत्र पनि यहि प्रभावको भूमरीमा परेको छ । 

जेन जी आन्दोलनका क्रममा मच्चिएको विध्वंसले खेल क्षेत्रमा समेत दीर्घकालीन प्रभाव पर्ने देखिएको छ । अहिले खेलकुद र पर्यटन क्षेत्र नेपालमा मच्चिएको अस्थिरताले अझै बढी प्रताडित हुने देखिएको छ । 

खेलकुद क्षेत्रमा तत्काल देखिएको प्रभाव 

जने–जी आन्दोलन अगाडि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजना तयारी अवस्था  थिए । जुन अहिले धमाधम स्थगित भइरहेका छन् । केही खेल आयोजनाहरू सञ्चालन भइरहेका पनि थिए, जुन बिचमा नै बन्द गर्नुप¥यो । 

आन्दोलन हुनुअघि नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादले नेपाली खेलकुदमा केही हलचल देखिन्थ्यो । यद्यपि यसबाहेक अन्य गतिविधि भने नियमित नै थिए । 

खेलाडीहरूले दैनिक रूपमा अभ्यासमा ब्यस्त देखिन्थे । केही खेल संघहरूले आफ्ना नियमित क्यालेन्डरअनुसार कार्यक्रम गरिरहेका थिए । पोखरामा फ्रेन्चाइज महिला भलिबल लिग भइरहेको थियो । भलिबलको हब मानिने पोखरामा युरोप, अमेरिका, दक्षिण अमेरिका र एशियाका स्तरीय खेलाडीले एभरेस्ट महिला भलिबल लिगमा खेल्दा नेपालको भलिबलमा छुट्टै उत्साह छायो । 

स्तरीय खेलाडीको आगमनले महिला भलिबल पनि नयाँ उचाइमा पु¥याउन आशा गरिएको थियो । तर एकाएक आन्दोलन हुँदा फ्रेन्चाइज भलिबल लिग प्रभावित हुन पुग्यो । 

अब कहिले हुन्छ भने अन्योलपूर्ण नै छ । त्योभन्दा ठूलो क्षति विदेशी खेलाडी बसेका होटलमा आन्दोलनकारीले आगो नै लगाए । यो घटनामा ती खेलाडीका सरसामान पनि जल्न पुग्यो । ती खेलाडीले आग्रह गर्दागर्दै आन्दोलनकारीले उनीहरूका सरसामानमा क्षति पु¥याए । यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल सुरक्षित स्थान नरहेको सन्देश जानेछ । 

विभिन्न देशका स्टार खेलाडीहरू नेपालमा आएर खेल्दा खेलाडीको पनि मनोबल बढेको छ । नेपाल प्रिमियर लिग (एनपिएल), एभरेस्ट महिला भलिबल लिग, नेपाल सुपर लिग (एनएसएल) र नेपाल कबड्डी लिगजस्ता फ्रेन्चाइज लिग नेपाली खेलकुद विकासमा मद्दत पुग्ने ठूला आधारहरू हुन् । तर, देशको राजनीति अस्थिरताले यी आयोजनालाई दीर्घकालसम्म अगाडि बढ्न दिने छैन ।
आयोजकहरू पनि यस्ता प्रतियोगिता गर्न धेरै पल्ट सोच्नेछन् । 

आगामी मंसिर १ देखि २७ गतेसम्म एनपिएलको दोस्रो संस्करण हुने तयारी छ । सम्भवतः  त्यसलाई पनि असर पर्न सक्नेछ । यसबीच एनपिएलको ट्रफी टुर थियो । त्यो प्रभावित भएको छ । यो टुरबाट एनपिएलको ब्रान्डिङ गर्ने नेपाल क्रिकेट संघ (क्यान) को योजना पनि पूरा हुन सकेन । एनपिएलको तयारीमा केही असर भने पर्नेछ । फ्रेन्चाइज टोलीमा व्यावसायिक घरना रहेको र उनीहरूको व्यवसायमाथि पनि आक्रमणबाट ठूलो क्षति भएको छ । यस्तोमा उनीहरू छिट्टै एनपिएलको तयारीमा नलाग्न सक्छन् । 

आन्दोलन चर्किंदा बंगलादेश र नेपालबीच मैत्रीपूर्ण फुटबल नै स्थगित हुन पुग्यो । पाहुना टोली घर फर्कन धेरै नै सकसपूर्ण रह्यो । ठूलो आयोजना काभा महिला भलिबल लिगसँगै घरेलु प्रतियोगिता नेपालगञ्ज नाइट रन, दोस्रो पर्वतीय दौड र अन्य थुप्रै घरेलु प्रतियोगिता स्थगित भइसकेका छन् । नेपालमा हुने भनिएको सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ ।

काभा बोर्ड अफ एड्मिनिस्ट्रेसनको शनिवार बसेको भर्चुअल बैठकले लिग स्थगित गर्ने निर्णय गरेको नेपाल भलिबल संघले उल्लेख गरेको छ । प्रतियोगिता आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने तय थियो । केही व्यावसायिक प्रतियोगितासँगै आगामी २०औं एशियाली खेलकुदका लागि नेपालका राष्ट्रिय टिमको नियमित तयारी थिए । जुन अहिले प्रभावित भइरहेको छ । 

भदौ २९ गते पोखरामा २०६० सालदेखि सुरु भएको एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड हुने तयारीमा थियो, जुन स्थगित भइसकेको छ । तयारी अन्तिम चरणमा पुगेको अवस्थामा आयोजना स्थलमा आगो लगाएपछि अवार्ड प्रभावित भयो र आयोजकले पनि केही क्षति बेहोर्नु परेको छ । 

नेपाली खेलकुदलाई नै प्रोत्साह गर्ने अवार्ड होस् या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई पछिल्लो घटनाले ठूलो क्षति पु¥याएको छ । यी आयोजनाहरू स्थगित भइरहँदा दीर्घकालसम्म नेपाली खेलकुदले क्षति व्यहोर्नु पर्नेछ ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update