काठमाडौं । आईसीसी टी–२० वरीयतामा आफूभन्दा ४ स्थान माथि रहेको अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालले एसियाली खेलकुदमा विजयी सुरुवात गरेको छ ।
शनिवार हुने जापानविरुद्धको खेल जिते नेपालले क्वार्टरफाइनलमा भारत वा श्रीलंकाजस्ता एसियाली क्रिकेट जायन्ट्ससँग भिड्ने अवसर पाउनेछ ।
२० औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले वरीयतामा आफूभन्दा माथि रहेको अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको छ ।
जापानको निस्सिनस्थित कोरोगी स्पोट्र्स पार्कमा शुक्रबार भएको खेलमा नेपालले अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य १७.२ ओभरमै ५ विकेट गुमाएर पूरा गरेको हो । आईसीसीको पछिल्लो वरीयताअनुसार अफगानिस्तान टी–२० मा १०औँ स्थानमा छ भने नेपाल १४ औँ स्थानमा छ । तर मैदानमा नेपालको बलिङले यही अन्तरलाई फिक्का पारिदिएको छ ।
अफगानिस्तानलाई २० ओभरमा १०२ रनमै रोक्न कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिएका छन् । अफगानिस्तानका फैसल खान र नजिबुल्लाह जादरानले ३०–३० रन बनाए पनि बाँकी ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।
१०३ रनको सामान्य लक्ष्य पछ्याउँदा नेपालले सुरुवाती विकेट गुमाए पनि सन्दीप जोराको ३४ र रोहित पौडेलको अविजित ३३ रनले जित सहज बन्यो । रोहितले ३२ बलमा चार चौका प्रहार गरे भने जोराले ३५ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।
हेड टु हेडमा रोचक विगत :
नेपाल र अफगानिस्तानबीचको प्रतिस्पर्धा नयाँ होइन । टी–२० अन्तर्राष्ट्रिय हेड–टु–हेडमा दुई टोलीबीच २०१४ मा भएको खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले पराजित गरेको थियो ।
यो हिसाबले टी–२० अन्तर्राष्ट्रियमा नेपालले अफगानिस्तानविरुद्ध शतप्रतिशत जितको रेकर्ड राखेको छ । तर एसियाली खेलकुदको इतिहासमा भने अफगानिस्तान नेपालका लागि कठिन प्रतिद्वन्द्वी रहँदै आएको छ । २०१४ को इन्चोन एसियाडको क्वार्टरफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो । त्यसैले शुक्रबारको जित नेपालका लागि १२ वर्षअघिको हारको बदला समेत बनेको छ । समूह ‘ए’ मा नेपाल, अफगानिस्तान र आयोजक जापान छन् । अफगानिस्तानले पहिलो खेलमा जापानलाई ४८ रनले हराइसकेको छ । नेपालले शनिबार जापानलाई हराए समूहको शीर्ष दुईमा पुग्दै क्वार्टरफाइनलको ढोका खोल्नेछ ।
भारत वा श्रीलंकासँग भिडन्त
यो प्रतियोगिताको संरचना नेपालका लागि ठूलो अवसर बनेको छ । भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशलाई सीधै क्वार्टरफाइनलमा स्थान दिइएको छ । समूह ‘ए’ को दोस्रो हुने टोलीले क्वार्टरफाइनलमा भारतसँग खेल्नेछ भने समूह विजेताले श्रीलंकासँग भिड्नेछ ।
यसको अर्थ जापानविरुद्धको खेल नेपालका लागि एउटा नियमित समूह प्रतिष्पर्धा मात्रै हुने छैन । विश्व क्रिकेटका दुई ठूला एसियाली शक्तिमध्ये एकसँग प्रतिस्पर्धा गर्ने ढोका समेत खुल्नेछ । भारत टी–२० विश्व क्रिकेटको शीर्ष तहमा रहेको टोली हो भने श्रीलंका पनि लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेटको स्थापित शक्ति हो ।
त्यसैले नेपालका लागि यस्ता शक्तिशाली देशहरुसँगको प्रतिष्पर्धा पदकभन्दा पनि आफ्नो स्तर, आत्मविश्वास र विश्व क्रिकेटसँगको दूरी नाप्ने परीक्षा पनि हो ।
त्यसो त अफगानिस्तानमाथिको जितले नेपाललाई दुई अंक मात्र दिएको छैन ।ठूला टोलीलाई हराउन सकिन्छ भन्ने आत्मविश्वास पनि दिएको छ । नेपालको नजर अब शनिबार जापासँग हुने खेलमा छ । जापानसँगको सकरात्मक नतिजाले नेपालले भारत वा श्रीलंकामध्ये एक क्रिकेट जायन्टसँग आमनेसामने हुने अवसर पाउनेछ ।


