News 24 Television
जेनजी शहीदहरूलाई राष्ट्रिय सम्मान, शोक बिदा र पार्क निर्माणसम्मका निर्णय

काठमाडौँ । सरकारले आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरुलाई शहीद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले असोज १ गते शोक दिवसमा सार्वजनिक विदा दिने र राष्ट्रिय झण्डा ओढाउने निर्णय गरेको बताए । 

उनका अनुसार सरकारले आन्दोलनमा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति १० लाख र अन्य खर्च बापत ५ लाख रुपैयाँ गरी १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

घाइतेहरुको निःशुल्क उपचार, दुर्गममा शव सम्बन्धित स्थानमा लैजान निःशुल्क हेलिकप्टर वा सवारी साधन उपलब्ध गराउने निर्णय भएको छ । दाहसंस्कारमा पनि सघाउने निर्णय भएको मन्त्री अर्यालले बताए ।

आन्दोलनको क्रममा भएको जनधनको क्षति र ज्यादतीको उच्चस्तरीय न्यायिक छानविन आयोग (न्यायिक जाँचबुझ आयोग) गठन गर्ने सैद्धान्तिक निर्णय पनि गरेको छ । त्यस्तै आन्दोलनका क्रममा निधन भएकाहरुको स्मरणमा जेन जी जागरण स्मरण पार्क निर्माण गर्ने निर्णय भएको छ ।

त्यस्तै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारमा निर्णयका लागि मन्त्रीपरिषदमा पेश भएका सबै प्रश्तावहरू फिर्ता गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update