News 24 Television
भग्नावेशमा उभिएर गृहमन्त्रीले भने– देशै नष्ट गर्ने काम नगरौँ, उठ्ने संकल्पमा निजी क्षेत्र

काठमाडौँ । यही भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा मुलुकले अकल्पनीय क्षति बेहोरेको छ । २४ गते देशभरिका सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको आगजनी, लुटपाट र तोडफोडबाट खर्बौंको क्षति भएको छ । सरकारी निकाय, सुरक्षा निकाय तथा पार्टी कार्यालय र नेता घर खरानी बने । यसै क्रममा नवगठित सरकार गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले खण्डहर बनाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय लगायत केही क्षेत्रको अनुगमन गरेका छन् । सो क्रममा उनले सार्वजानिक तथा व्यक्तिगत सम्पत्तिमाथि क्षति गर्नु अपराध हो भन्दै देशलाई नष्ट गर्ने काम कसैले गर्न नहुने बताए । जबकि सोही अपराधजन्य कार्यको बलमा उनी गृहमन्त्री बनेका छन् । 

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले समेत केही खण्डहर कार्यालयको अनुगमन गरेकी थिइन् । उनले यत्रो विध्वंशकारी कार्य नेपालीले नै गरेको हो भन्नेमा आशंका गर्दै यसमा षड्यन्त्र रहेको बताइन् । तर यसरी आन्दोलनमा नाममा भएको ऐतिहासिक धरोहर नष्ट गर्ने, न्यायालयदेखि सुरक्षा निकायसम्म उजाड हुनेगरी आगो लगाउने तत्वको अनुसन्धान र कारबाहीबारे वर्तमान सरकार गम्भीर देखिएको छैन । आन्दोलनमा तत्कालीन ओली सरकार पक्षबाट भएको दमन तथा मानवीय क्षतिको बारे अनुसन्धान गर्ने कुरा वर्तमान सरकारको प्राथमिकतामा देखिन्छ । 

गृहमन्त्री अर्यालले सोमबार आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनाबारे छानविन गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको बताए । जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन र कानूनी राज्यको प्रत्याभुति दिलाउन पनि सरकारले सो क्रममा भएको बल प्रयोगको घटनाको निष्पक्ष छानबिनको कामलाई पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ थियो । जेनजी आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै उनले त्यसक्रममा भएका भएका जनधनको क्षतिलाई सबैले मिलेर सम्बोधन गर्नुपर्ने बताए ।

आन्दोनका क्रममा भएका प्रमुख पार्टीका कार्यालयको क्षतिबारे नेताहरुले पुनः बलियो भएर उठ्ने संकल्प गरिरहेका छन् । काँग्रेस महामन्त्री गगन थापा, एमाले महासचिव शंकर पोखरेलले खण्डहर बनेको पार्टी कार्यालय निरीक्षण गर्दै पुनः उठ्ने बताएका छन् । यसै क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि मंगलबार पेरिसडाँडास्थित पार्टी कार्यालय अनुगमन गर्दै अब नयाँ ठूलो भव्य कार्यालय भवन बनाउने घोषणा गरेका छन् । 

सरकार वा पार्टीसँग प्रत्यक्ष साइनो नभएका प्रतिष्ठित व्यावसायिक संस्थाहरु पनि आन्दोलनकारीको निशानामा परेका छन् । निजी क्षेत्रको लगानी रहेका चौधरी ग्रुप, आइएमई ग्रुप, गोल्छा अर्गनाइजेसन, भटभटेनी, एनसेल लगायतमाथि ठूलो क्षति पुगेको छ । हजारौँ नेपालीलाई रोजगारी र अर्बौं राजश्व दिइरहेका उद्योग व्यवसाय खरानी हुँदा घाटा त देशलाई नै हुने हो । तर पनि मनोबल डगमगाउन नदिई उनीहरु पुनः उठ्ने सपना देखिरहेका छन् । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले हालैको अराजक घटना इतिहासमै सबैभन्दा बढी पीडादायी क्षण भए पनि विचलित नभई पुनः उठ्ने संकल्प गरेका छन् । 

त्यस्तै, आईएमई समूह र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो घरनालाई लक्षित गर्दै आक्रमण भएपछि ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन् । तर पनि सम्हालिएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ छ । दशक लामो द्वन्द्व, भूकम्प, नाकाबन्दी र कोभिड महामारी खेपेर बल्लतल्ल उठेका निजी क्षेत्र आर्थिक मन्दीबाट तंग्रिने प्रयासमा थिए, तर यही बेला आन्दोलनको नाउँमा विध्वंश मच्चाइयो । करोडौँ क्षति व्यहोरेको गोल्छा ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघकै पूर्वअध्यक्ष शेखर गोल्छाले व्यवसायीमाथि भएको वीभत्स आक्रमणबाट आफू निराश वा विचलित नभएको बताएका छन् । भाटभटेनीका मिनबहादुरले पनि पुनः उठ्ने संकल्प गर्दै सेवा सञ्चालन गर्न थालेका छन् । थापाथलिका अधिकांश गाडी शोरुमहरु पनि आगजनीमा परेका थिए । प्रदर्शनकारीको निशानामा यहाँका सिजी मोर्टस, सिप्रदी, हुण्डाई र महिन्द्राका शोरुम परे, बाँकी रहेका शोरुमहरू सञ्चालनमा आउन थालेका छन् । 

समग्रमा, देशमा अनपेक्षित युवा विद्रोहसँगै आपराधिक कर्म भयो । दशैँ–तिहारजस्ता ठूला चाँडबाडको मुखमा भएको यो आपराधिक विध्वंशले सुरक्षा निकाय बर्दीविहीन, घरबास विहीन भए, सरकारी निकाय उजाडिए अनि व्यवसायिक क्षेत्र तहसनहस भयो । तर पनि अपराधकर्मको निष्पक्ष छानबिन गर्दै पुनः सम्हालिएर उठ्नु, उठाउनुको विकल्प छैन । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update