News 24 Television
कार्यवाहक मेयर अनिता सेटिङ मिलानमा व्यस्त ! स्थानीय नै उत्रिए विरोधमा

सप्तरी । जेन–जी आन्दोलनले मुलुकको राजनीतिक स्थिति फेरिएको छ । तर, स्थानीय सरकारमा काम गर्ने शैलीमा परिवर्तन नआएको झल्को सप्तरीको शम्भुनाथ नगरपालिकामा देखिएकोे एक घटनाले देखाएको छ । 

नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतलाई नपठाउन कार्यवाहक नगरप्रमुखले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई लेखिएको पत्रले यतिबेला चर्चा पाइरहेको छ । 

सप्तरीको शम्भुनाथ नगरपालिकामा फेरि लफडा मच्चिएको छ । कहिले मेयर नै भ्रष्टाचार मुद्दामा मुछिने त कहिले कार्यवाहक मेयरले अनेक फण्डा गर्ने कार्य नरोकिएसँगै प्राय यो नगरपालिका चर्चामा नै रहने गरेको छ । 

२०७९ सालमा निर्वाचन लगत्तै भ्रष्टचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेपछि सप्तरीको शम्भुनाथ नगरपालिकाको नगरप्रमुख जितेन्द्र कुमार गुप्ता निलम्बनमा रहेका छन् । सोही समयदेखि कार्यवाहक नगरप्रमुखको जिम्मेवारी उपप्रमुख अनिता चौधरीले सम्हाल्दै आएकी छिन् । हाल शम्भुनाथ नगरपालिकामा पठाइएका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर भण्डारीलाई कार्यालयमा हाजिर नहुँदै रोक्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको नाममा उनले हस्ताक्षर गरेको पत्र सार्वजनिक भएपछि उनी चर्चामा छिन् । 

मन्त्रालयले देशैभरिको नगरपालिकामा उपसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृतलाई पठाएर निमित्त बिहिन बनाएपछि शम्भुनाथ नगरपालिकामा पनि हाल रहेका अधिकृत स्तरका प्रमुख प्रशासकीय भन्दा माथिल्लो नगरपालिकाका दरबन्दी अनुसारका उपसचिव भण्डारीको सरुवा गरेको हो । तर, भदौ २९ गते उनले मन्त्रालयलाई सम्बोधन गरि लेखेको पत्रमा प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर भण्डारीलाई अनुभवहीन भन्दै फिर्ता गर्न भनिएको छ । 

उनको यस कदमको स्थानीय स्तरमा विरोध सुरु भएको छ । स्थानीयले नगरप्रमुखले आफु अनुकुल प्रमुख प्रशासकीय अधिकृत राखेर भ्रष्टाचार गर्न खोजेको आरोप लगाउने गरेका छन्। 

सार्वजनिक पत्रमा कार्यवाहक नगरप्रमुखको हस्ताक्षर भएपनि चलानी नम्बर रहेको छैन्। २९ गते शम्भुनाथ नगरपालिकाले जितिया पर्वको स्थानीय बिदा दिएकै दिन सो पत्र लेखिएको छ । 

स्थानीयले नयाँ आउने प्रमुख प्रशासकीय अधिकृतलाई यहाँ काम गर्न सहज वातावरण नहुने सूचना दिइ उनलाई आउनबाट रोक्न प्रयास गरेको हुन सक्ने अनुमान छ । स्थानीयले यस पत्रबारे प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराएका छन् ।

सार्वजनिक पत्रमा स्थानीय तहको अनुभव भएको प्रमुख प्रशासकीय अधिकृत पठाउन वा हालको अधिकृत हरिमोहन सुतिहारलाई नै कायम राख्न भनिएको छ । जनप्रतिनिधिको बैठकले यस्तो निर्णय भएको पत्रमा उल्लेख छ । 

अधिकृत सुतिहारले यस पत्रबारे आफुलाई जानकारी नरहेको बताउछन्। उनले आफु सोमबार नै कार्यालय आएको र पत्रमा चलानी समेत नरहेकोले जानकारी नरहेको बताउँछन्। 

यसबारे कार्यवाहक नगरप्रमुख चौधरीलाई जवाफका लागी खोज्दा उनी कार्यालयमा भेटिएनन्। उनलाई फोन मार्फत पटकपटक सम्पर्क गर्दा उनको फोन स्विच अफ रहेको थियो । 

यसरी नगरपालिकामा आफु अनुकुल कर्मचारी मिलाएर काम गरि भ्रष्टाचारमा सहजता ल्याउने प्रयास भइरहेको भन्दै स्थानीयले यस्ता गतिविधि हुन नदिने चेतावनी दिइरहेका छन् । 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update