News 24 Television
पार्टीमा सर्वेसर्वा केपी ओली, भूमिगत भए पनि अझै उनकै कब्जामा एमाले !

काठमाडौँ । एमाले विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमा अझै निरन्तरता दिने चाहना दर्शाइरहेका थिए । जेन–जी आन्दोलनबाट प्रधानमन्त्री पदबाट अपदस्त हुनुभन्दा दुई दिन अघि मात्रै पनि उनी एमालेमा तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न विधान महाधिवेशन समपन्न गर्दै गरिरहेका थिए । उनले तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न विधानमा रहेको ७० वर्षे उमेर हदलाई हटए । 

त्यस्तै एक व्यक्ति दुई कार्यकाल मात्रै अध्यक्ष बन्ने भन्ने लगायत विधान पनि परिमार्जन गरेर ओलीले आफ्नो तेस्रो कार्यकल सुरक्षित गर्न आवश्यक बाँधहरु फुकाइसकेका छन् । तर एमालेको यो विधान महाधिवेशन सकिएलगत्तै सेप्टेम्बर ८ मा भएको जेन–जी आन्दोलनपछि भने परिस्थिति फेरिएको छ । 

जेन–जी आन्दोलनले ल्याएको राजनीतिक उथलपुथलले उनी नेतृत्वको सरकार विघटन मात्रै गराएको छैन । यसले उनको राजनीतिक भविष्य र भावी अध्यक्ष बन्ने महात्वकांक्षालाई तुहाउने खतरा भएको व्याख्या गरियो । तर पनि ओलीले अझै एमाले पार्टीको नेतृत्व हस्तान्तरणको घोषणा नगर्नुलाई भने धेरैले आश्चार्यका रुपमा लिएका छन् । पछिल्लो विकसित घटनाक्रमले एमालेमा ओलीको विकल्प खोजिनुपर्ने दवाब बढाएको छ । एमालेमा तल्लो तहका धेरै नेताहरुले उनको राजनीतिक बहिर्गमन चाहेका छन् । र, केही माथिल्लो तहका नेताले पनि ओलीको कार्यकाललाई आत्मआलोचना गर्दै एमाले पुनरगठनकोको माग चर्कोरुपमा उठाइरहेका देखिन्छन् ।  

मुख्यतः एमालेमा योगश भट्टराई, गोकुल बाँस्कोटा तथा नेतृ उषाकिरण तिम्सिना लगायतले ओलीलाई अब काँधमा बोकेर हिड्न नसकिने चेतावनी दिइसकेका छन् । पार्टी र सरकारकै नेतृत्व गरिरहेको अवस्थामा भएको आन्दोलन र उथलपुथलबाट नैतिक रपमा ओली अलग हुनुपर्ने माग तल्लो स्तरबाट माग उठेपनि ओली स्वयमले भने पदबाट राजीनामा दिने अझैसम्म छाँटकाँट देखाएका छैनन् । अर्कोतर्फ ओली पक्षकै नेताहरुले भने अहिले नै पार्टीमा उनको विकल्प खोजिहाल्न नहुन अडान लिइरहेका देखिन्छन् । पार्टी महासचिव शंकर पोखरेल तथा नेता महेश बस्नेत ओलीको विकल्प तत्काल खोज्न नुहने अड्डि कसिरहेका छन् । 

उता पार्टी महासचिव शंकर पोखरेल पनि अध्यक्ष ओली सार्वजनिक नभइरहँदा आफ्नो नेतृत्वमा पार्टीको केही गतिविधि गर्न चाहे पनि उनले अझैसम्म नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने विषय अझै उठाउन सकेका छैनन् । पोखरेलले हालै एमालेले मनन गर्नुपर्ने ९ कुरा भनेर सामाजिक संजाल फेसबुकमा केही तर्क राखेपनि उनले अझै केपी ओलीले पार्टीको नेतृत्व त्याग्नुपर्छ भनेर स्पष्ट धारणा राख्न सकेका छैनन् । 

ओली भने अझै त्रासमै 

आफू कार्यकारी प्रधानमन्त्री रहेकै बेला पदबाटै अपदस्त हुनेगरी भएको जेन–जी आन्दोलनपछि केपी ओली अझै सार्वजनिक हुन सकेका छैनन् । भदौ २४ गते बालुवाटारबाट हेलिकप्टरबाट भागेका ओली सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अझै सेनाको व्यारेकबाट निस्कन मानिरहेका छैनन् । 

अन्य दलका नेता तथा निवर्तमान मन्त्रीहरु सार्वजनिक भइसक्दा ओलीले अझै सुरक्षा थ्रेट मान्नुलाई भने कतिपयले उनले सत्तामा रहँदा चरम कुकर्म गरेको परिणाम भनेर टिप्पणी गरिरहेका छन् । तर पनि एमालेले भने उनी संविधान दिवस अर्थात असोज ३ गते भव्यताका साथ सार्वजनिक हुने दावी गरिरहेका छन् । 

यस्तो दावी  एमालेकै नेता महेश बस्नेतले नै गरेपनि यो दावीलाई नै आधिकारिक मान्न सकिने अवस्था देखिँदैन । तर जे होस्, पार्टीको नेतृत्वमात्रै नभइ राज्यसत्ताकै नेतृत्व गरिरहेको अवस्थामा भएको जेन–जी आन्दोलनले ओली र एमालेकै परीक्षण ग¥यो । तर ओलीले यो परीक्षामा सुखद नतिजा दिननसक्दा उनले चौतर्फी रुपमा नैतिकताको प्रश्न झेलिरहेका छन् । तर पनि ओलीले एमालेको अध्यक्ष पद त्याग्न नसक्नु र नेताहरुले पनि स्वतस्फूर्त रुपमा उनको राजीनामा माग्न नसक्नुले फेरि पार्टी नेतृत्वमा ओलीकै हालीमुहाली हुनेमा कुनै शंका छैन । 

भ्रष्टाचार, कुशासन र बेथितिकाविरुद्ध जेन–जी आन्दोलनको आँधीबेहेरी आउँदा पनि ओलीले तेस्रो कार्यकालको आकांक्षा समाप्त नुहुनु र अझै सत्तामा पुनरागमन गर्ने प्रयासलाई भने पार्टीमा ओलीकै एकछत्र राजको रुपमा व्याख्या गरिन थालेको छ । 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update