News 24 Television
ठूला राजनीतिक दलका शीर्ष नेताकै कारण लोकतन्त्र असफल भयो : पुरञ्जन आचार्य

काठमाडौँ । वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठूला राजनीतिक दलका शीर्ष नेताहरुकै कारण लोकतन्त्र असफल भएकाले उनीहरुले राजीनामा दिनुपर्ने बताएका छन् । 

ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को नेतृत्व गरिरहेकै नेताहरु असफल भएको प्रमाण आन्दोलनबाट पुष्टि भइसकेको उनकाे भनाइ छ । नेता र नेतृत्वको विरुद्धमा जनता सडकमा निस्किनु भनेको उनीहरु असफल भएको प्रमाण रहेको उनले जिकिर गरे ।

आचार्यले काँग्रेस, एमाले र माओवादीको नेतृत्व गर्नेहरुले सरकारको पतनसँगै आफ्नो पार्टीमा राजीनामा बुझाउनुपर्नेमा त्यो हुन नसकेको बताउनु भयो । आन्दोलनमा टेकेर भएको अपराध, तोडफोड, हत्याले शीर्ष नेताहरु राजकाज चलाउन असफल भएको स्पष्ट हुने बताए । जेन जी आन्दोलन शिर्ष नेताहरुको नेतृत्वको असफलतामै टेकेर भएको बताउँदै पार्टी दुब्लाएर हात्तीबाट मुसा भइसक्दा समेत माओवादीको नेतृत्वबाट पुष्पकमल दाहालले छोड्न नसकेकाे बताए ।

उनले भने, ‘उनीहरुको नेतृत्वमा डेमोक्रेसी असफल भएको छ । उनीहरुको विरुद्धमा जनता सडकमा निस्किएका छन् । जसको सरकार हुँदा गोली चलेको छ । एकातिर काँग्रेस र एमालेले त सरकारको पतनसँगै राजीनामा पनि आफ्नो पार्टीमा सँगसँगै बुझाउनुपर्ने हो । आन्दोलनमा टेकेर यत्रो अपराध भएको छ, तोडफोड भएको छ, हत्या भएको छ । उनीहरु राजकाज चलाउन पूर्ण रुपमा फेल भए । जेसुकै कारणले होस् । आम जनतको लागि यो सरकार पूर्ण रुपमा फेल भयो र जे जस्तो घटना भयो, त्यो उनीहरुको असफलतामा टेकेर भएको हो । त्यस्तै सत्ता बाहिर रहेको माओवादी पार्टीका नेताले त उहिल्यै झन राजीनामा दिनुपर्ने हो । किनभने दुब्लाएर हात्तीबाट मुसा भइसक्यो तर पनि पार्टीको नेताले नेतृत्व छोडेका छैनन् । यि तीन जनै नेताहरुले आफ्नो ढंगले जति हामीले गर्यौँ,अब हामीलाई बिदाबारी दिनुस् भनेर गइसक्नुपर्ने हो । कार्यकर्ताको चेत खुल्ने हो भने त्यो गर्ने हो । होइन भने दासत्व स्वीकार गरेर बस्ने ।’

उनले कार्यकर्ताहरुले सचेततापूर्वक शीर्ष नेताहरुलाई पार्टीबाट अब बिदाइ गर्नुपर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update