
सिन्धुपाल्चोक । माथिल्लो भोटेकोशी पावर कम्पनीले स्थानीयलाई सेयर नदिएको विषय चर्किँदै जाँदा भोटेकोशी गाउँपालिकामा सोमबार तोडफोड भएको छ । एक सातादेखि बन्द भएको पावरहाउस सञ्चालन गर्न कम्पनी र पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा सहित जनप्रतिनिधिसँग छलफल चलिरहेका बेला आन्दोलनरत स्थानीयलाई बेवास्ता गर्दै बैठक गरिएको थाहा पाएपछि माहोल भड्किएको हो ।
प्रत्यक्षदर्शिका अनुसार आक्रोशित स्थानीय पालिका भवन पुगेपछि नाराजुलुस गर्दै ढुंगामुढा गरे र भवनमा क्षति पु¥याएका हुन् । ‘पालिका अध्यक्ष राजिनामा दे, गुण्डा पाल्ने पालिका चाहिँदैन’ जस्ता नारा लगाउँदै उनीहरूले विरोध जनाए । तनावका बीचमा बैठक छाडेर हाइड्रोपावरका अधिकारी र जनप्रतिनिधि भागेका थिए । धकेलाधकेल र झडपमा प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी पावर कम्पनीले करिब दुई दशकदेखि विद्युत उत्पादन गरिरहेको छ । तर, स्थानीयलाई दिने भनिएको १० प्रतिशत सेयर अझै वितरण भएको छैन । यही विषयलाई लिएर पटक–पटक भोटेकोशीमा आन्दोलन भइरहेका छन्।
जेनजी नाम दिएर सुरु भएको स्थानिय आन्दोलनकारी नुर्पु शेर्पाले भने, “हामी शान्तिपूर्ण आन्दोलनमै थियौँ, तर पालिका अध्यक्षले प्रहरी परिचालन गरी दमन गर्न खोजे । जबसम्म सेयर दिने र अध्यक्षले राजीनामा नगर्ने, तबसम्म आन्दोलन रोक्दैनौँ।”
सेयर वितरणबारे कम्पनी, स्थानीय र सरकारबीच विगतदेखि नै विवाद हुँदै आएको छ । अहिलेको घटनाले विवाद थप चर्किएको देखिएको छ ।