News 24 Television
गल्तीबोध गर्ने मुडमै छैनन् ओली, भविष्यमा पछुताउनुपर्ने चेतावनी !

काठमाडौँ । चरित्र र प्रवृत्तिगत तवरले जिद्धि र हठको आरोप खेप्ने गरेका एमाले अध्यक्ष केपी शर्मा ओली भदौ २४ को जेन–जी आन्दोलनपछि मात्रै प्रधानमन्त्री पदबाट बहिर्गमित भए । भदौ २३ गतेको जेन–जी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर १९ जना युवाहरु ढलिसकेपछि पनि पद त्याग्ने घोषणा नगरेका ओलीको २४ गतेको राजीनमा पनि बाध्यकारीजस्तो मात्रै थियो । यहाँसम्मकी उनी बढ्दो घटना क्रमलाई दबाएर अझै पदमा रहिरहन चाहन्थे । तर उनलाई सुरक्षा संयन्त्रले नै राजीनामाको दबाव बढाएर उनकै सुरक्षाका लागि बालुवाटारबाट भगाएको थियो । 

पछिल्ला दिनहरुमा अप्रिय घटनाहरु विकसित हुँदैजाँदा पनि आफूलाई नै माथि राखेर नयाँ रणनीति बुन्ने प्रयास गरेको तर सुरक्षा संयन्त्र र पार्टीका सहकर्मीहरुकै असहयोगले उनी विफल भएको तथ्यहरु बाहिरिँदै आएका छन् । अहिले जेन–जी आन्दोलनको जगमै उभिएर अन्तरिम सरकारसमेत बनिसकेको अवस्था छ । जेन–जी आन्दोलनको प्रभावबाटै सत्ताकै नेतृत्व गरिरहेको दल एमाले, काँग्रेस तथा प्रतिपक्षी दलहरु प्रभावित बनेका छन् । यसपछि खुल्दै आएका केही तथ्यहरुले पनि ओलीले त्यो अन्तिम चरणसम्म पनि पदबाट राजीनामा दिन नचाहिरहेका विषयहरु खुलाईरहेको छ । 

गल्तीबोध गर्ने मुडमा छैनन् ओली

तत्कालीन प्रधानमन्त्रीसमेत रहका हिसाबले पनि जेन–जी आन्दोलनपछिको क्षतिका सम्बन्धमा केपी शर्मा ओलीमाथि नै अपजस जानु स्वभाविक हो । उनी नेतृत्वको सरकार रहेकै बेला ओलीसहितको राजनीतिक दल तथा नेताहरुकै कार्यशैली र शासन शैलीको विषयलाई प्रश्न खडा भएको थियो । तर पनि यो परिघटना र क्षतिलाई लिएर ओलीले गल्तीबोध गर्ने मुड देखाएका छैनन् । फेसबुकमा स्टाटस लेख्दै प्रहरीलाई गोली हान्ने आदेश नदिइएको तथा आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेपछि आगजनी र तोडफोड भएको भनेर पनि ओली दोषबाट पञ्छिन खोजिरहेका छन् । अर्कोतर्फ ओली जेन–जी आन्दोलनपछिको घटनापछि भूमिगतकै स्थितिमा पुगेर सार्वजनिक हुनसमेत आँट गरिरहेकका छैनन् । एकसाता बढी भूमिगत रहेका ओलीले शुक्रबार संविधान दिवसको अवसरमा आयोजित सुभकामना आदान–प्रदान कार्यक्रममार्फत सार्वजनिक हुने भनिएता पनि उनले त्यहाँ सहभागी हुने आँट गरेनन् । यद्यपि उनी अहिले सेनाको सुरक्षाबाहिर आएर भक्तपुरकै गुण्डुमा डेरा बसेको भन्ने तथ्य भने बाहिरिएको छ । 

सहानुभूति बटुल्ने प्रयास

ओलीले फेसबुकमै आफू नेतृत्वको सरकारले मुलुकको सार्वभौमिकता र सामथ्र्य विस्तार गर्ने प्रयास गरिरहेको दावी मात्रै गरेका छैनन् । उनले जेन–जीमाथि सरकारी पक्षबाट गोली प्रहार नभएको दावी गर्दै जिम्मेवारीबाट पञ्छिने संकेतपनि गरेका छन् । भूमिगत भएपछि पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका ओलीले प्रदर्शनका क्रममा घुसपैठ र षड्यन्त्र भएको दावी गरेका छन् । त्यस्तै उनले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नहुँदा प्रहरीमै प्रयोग नभएको हतियारले जेन–जी ढालिएको भनेर आफूमाथि लाग्ने दोषबाट पञ्छिन खोजेका छन् । तर उनले पेश गरेको दावीसँगै उनीमाथि केही प्रश्न भने उठेका छन् । 

यदि प्रहरीलाई आदेश थिएन र प्रहरीले प्रयोग नै नगर्ने हतियार प्रयोग भएको भए घटना लगत्तै त्यस सम्बन्धमा ब्रिफिङ गरेर छानविन र अवस्था सामान्य पार्न निर्देशन दिन सक्ने ल्याकत किन राखिएन ? आन्दोलन ओलीको कार्यशैलीमाथि नै प्रश्न उठाउँदै आरम्भ भएको हो भनेर सर्वविदित नै हुँदा आफूले राजीनामा दिइसकेपछि मात्रै थप घटना भएको हो भनेर पञ्छिन मिल्छ ? उनको राजीनमा स्वीकृत नै भइसकेपनि काम चलाउ सरकारको जिम्मेवारी उनैमा रहन्छ भन्ने उनमा ज्ञान नभएको हो ? जस्ता प्रश्न ओलीमाथि उठिरहेका छन् ।  

आफूलाई हटाएकामा पछुताउनुपर्ने सन्देश

अध्यक्ष ओलीले आफ्नो सन्देशमा प्रधानमन्त्री पदबाट हटाइएकामा नयाँ पुस्ताले पछुताउनुपर्ने सन्देश पनि दिन खोजेका छन् । उनले भनेका छन् ‘आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ । हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ । विदेश जाने र आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ । हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ ।’

ओलीको यो टिप्पणीले जेन–जी आन्दोलनको भुमरीबाट जोगिएर पनि अझै राजनीतिबाट विश्राम लिने चाहना ओलीले नदेखाएको स्पष्ट पार्दछ । र, उनी अझै नयाँ पुस्तालाई चेतावनी दिएर होस् वा उनीहरुको भावनालाई नै अपनत्व गरेर अझै राजनीतिमै रहिरहने विषयको स्पष्ट संकेत गरेको छ । तर आन्दोलनकै आडबाट ओलीलाई अपदस्त गरेका जेन–जीले ओलीलाई फेरी नेतृत्वमा स्वीकार गर्लान ? प्रश्न अझ पेचिलो बनेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update