सप्तरी । जेन–जी आन्दोलनको प्रभावबाट सप्तरी जिल्ला अहिले पनि सामान्य बन्न सकेको छैन । उग्र बनेको भीडले सप्तरीमा राजनीतिक दलका पार्टी कार्यालयदेखि विभिन्न सरकारी कार्यालयमा आगजनी गरे ।
आन्दोलनले राजविराज नगरपालिकाको कार्यालयसहित जिल्लाको सदरमुकाममा रहेको अधिकांश सरकारी अड्डा ध्वस्त बनाए । घटनाको डेढ हप्ता बढी बितिसक्दा पनि कार्यालयमा सेवा सुचारु हुन सकेको छैन् । जेन–जी आन्दोलनले सरकारी भौतिक संरचनामा गरेको आक्रमणबाट सप्तरी जिल्ला समेत उच्च प्रभावमा परेको छ । यसको प्रभावकै कारण अहिलेसम्म पनि सरकारी कामकाजलाई पुनः सहजरुपमा सञ्चालनमा ल्याउन सकिएको छैन ।
भदौं २४ गते आन्दोलनका क्रममा देखिएको उग्र भीडले राजनीतिक दलका पार्टी कार्यालयदेखि सदरमुकाममा रहेको प्रायः जसो सरकारी कार्यालयमा आगजानी र तोडफोड गरे । आन्दोलनमा एक दर्जनभन्दा बढी सरकारी कार्यालयमा आगजानी तथा तोडफोड गरियो ।
आगजनीले कार्यालयहरूमा रहेको गाडी, फाइल दस्तावेज, फर्निचरका समानदेखि कम्प्युटर प्रिन्टर लगायतका समान जलाइए, लुटिए । त्यसमा सप्तरीमा सबभन्दा बढी क्षति राजविराज नगरपालिकामा भएको देखिएको छ ।
नगरपालिकाको तल्लो तल्लाका सबै कोठा र त्यसमा रहेका फर्निचर तथा कागजातहरु जलेर नष्ट भइ नगरपालिका खण्डहर झै बनेको छ । माथिल्लो तल्लामा समेत कोठाहरूको फर्निचर जलेको छ भने एक वटा हल मात्र सुरक्षित रहेको छ । सोही कोठामा अहिले जनप्रतिनिधिदेखि कर्मचारीहरु बस्ने गर्छन् ।
सेवाग्राहीलाई सेवा दिने अवस्थामा हालसम्म पालिका पुग्न नसक्दा सुचना टाँसेरै सेवाग्राहीलाई नआउन भनिएको छ । नगरपालिकाको फोहर उठाउने गाडीदेखि मोटरसाइकल, स्कारपियो समेत जलेर नष्ट भएको छ ।
नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले क्षण्डै १५ करोड २३ लाखको क्षति भएको विवरण संकलन भएको बताइन् ।
फोहर उठाउने गाडी जल्दा फोहर व्यवस्थापनमा अत्यन्त समस्या देखिएको छ । नगरपालिकाका स्थानीय युवा तथा जनप्रतिनिधिको सहयोगमा अभियान चलाएर उनीहरूले नगरपालिकालाई सरसफाई गरेका छन् । जिल्लाको सदरमुकाममै रहेको सप्तरी जिल्ला अदालतमा अत्याधिक क्षति भएको छ ।
कार्यालयको विभिन्न कोठामा आगलागी हुँदा फाइलहरू जलेका छन् । दुई वटा इजलास समेत खरानी भएको छ । कार्यालयमा पार्किङ्ग गरि राखिएको न्यायाधीश तथा कर्मचारीको चार चक्के, दुई चक्के गाडी जलेर नष्ट भएका छन् । चालु मुद्धाका पाँच सय बढी मिसिल जलेर नष्ट भएको छ ।
साथै मधेस प्रदेशमा उच्च अदालत, उच्च सरकारी वकिल तथा जिल्ला सरकारी वकिल कार्यालय, डिभिजन वन कार्यलय, पुर्वाधार विकास कार्यालय, हुलाक कार्यालय, निर्वाचन कार्यालय, यातायात कार्यालय तथा अन्य पालिका समेत आगजानी तथा तोडफोडमा भएको छ ।
सप्तरीमा हालसम्म पनि क्षतिको विवरण संकलन कार्य जारी नै छ । अहिले सप्तरीको माहोल शान्त हुँदै गएको छ भने जलेका कार्यालयहरुमा कामकाजको वातावरण बनाउन कर्मचारीहरु लागी परेका छन् । तर अहिलेपनि अत्यधिक क्षति भएका कार्यालयको सेवा प्रवाह भने सुचारु हुन सकेको छैन् ।
