News 24 Television
डाक्नेश्वरीमा नगरसभाकै नाममा लफडा, जालझेलको आरोप

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाले शनिबार १६ औं नगरसभा गरेको छ । शनिबार बिहान ८ बजे तोकिएको नगरसभा चोर बाटोबाट गर्न लागिएको भन्दै केही जनप्रतिनिधि तथा स्थानीयले विरोध गर्दा बेलुका ३ बजे मात्र सञ्चालन   भयो । नगरपालिकामा अपारदर्शीता तथा भ्रष्टाचार मौलाएको भन्दै उनीहरूले आयव्यय विवरण माग गरेका छन्  । 

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको १६ औं नगरसभा शनिबार गरेको छ । स्थानीय सरकारले असार १ देखि १० गतेसम्म अगामी आर्थिक बर्षको लागि बजेट ल्याउनुपर्ने कानुनी प्रावधान छ । तर कतिपय स्थानीय तहहरुले यसलाई बारम्बार उल्लंघन गर्ने गरेको देखिएको छ । 

सप्तरीको डाक्नेश्वरी नगरपालिका पनि त्यसको एक उदाहरण बनेको छ । गत आर्थिक बर्षको असार १० सम्मै गर्नुपर्ने नगरसभा नगरपालिकाले तीन महिनापछि शनिबार मात्र १६औं नगरसभा सुरु गरेको छ । त्यसमा पनि नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख रामलखन मलाहले स्थानीय जनभावना विपरित बन्द कोठामा कुनै सुचना नगरि चोर बाटोबाट बजेट ल्याउन लागेको भन्दै स्थानीय तथा केही जनप्रतिनिधिहरूले विरोध जनाएका छन्। 

उनीहरूले मलाह निर्वाचित भएदेखिको आयव्ययको विवरणसहित ६ बुँदे माग राख्दै नगरसभा अवरुद्ध गरेका थिए । नगरपालिकामा भ्रष्टाचार मौलाएको र अपारदर्शी ढंगले नगरप्रमुखले बहुमत सदस्यलाई प्रलोभनमा पारेर काम गर्न खोजेको उनीहरूको आरोप छ ।

नगरप्रमुखको कार्यशैलीबाट नेकपा एमालेबाटै निर्वाचित उपप्रमुख मिरा कुमारी यादव पनि असन्तुष्ट छिन् । बजेट निर्माणमा उपप्रमुखको भुमिका अनिवार्य रहेपनि नगरप्रमुख मलाहले आफुलाई केही जानकारी नदिए काम गर्ने गरेको उनको आरोप छ । प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखले मिलोमतोमा जिल्लाको सदरमुकाम राजविराजमा भाडामा कोठा लिएर त्यहीबाटै काम गर्ने गरेको समेत आरोप लगाएकी छिन ।

बिहान ८ बजे तोकिएको नगरसभामा विरोध गरिरहेका राजनीतिकर्मी तथा स्थानीयलाई नगरप्रमुख मलाहले आयव्यय विवरण निकाल्न समय लाग्ने भएकोेले केही दिनपछि मात्रै हुन सक्ने भन्दै सुचनामा उपल्ब्ध गराएनन् । 

अनन्तः नगरसभा गरिएपनि आफुहरुले त्यसलाई नमान्ने र जनस्तरमा कार्यान्वयन गर्न नदिने अडान लिदै उनीहरू गएपछि ३ बजे नगरसभा सुरु गरियो । नगरप्रमुख मलाहले भने आयव्यय विवरण तयार नरहेकोले अहिले तुरुन्तै दिन नसक्ने बताउँछन् । उनले असारमा आर्थिक कामकाज भइरहेकोले नगरसभा गर्न विलम्ब भएको बताउँछन् ।

डाक्नेश्वरीको समृद्धिको आधार, कृषि, जनशक्ति तथा पुर्वाधार नराकासाथ नगरपालिकाले चालु आर्थिक बर्षमा चालुतर्फ ५६ करोड ८० लाख र पुँजीगत ३० करोड ५३ लाख गरि कुल ८७ करोड ३३ लाख बजेट प्रस्तुत गरेको छ । 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update