News 24 Television
सन्तोष राई बने विश्वका ७ वटै मेजर म्याराथन पूरा गर्ने पहिलो नेपाली

काठमाडौँ । गिनिज वर्ल्ड रेकर्ड होल्डर सन्तोष राई सबै सातवटा मेजर म्याराथन पूरा गर्ने पहिलो नेपाली बनेका छन् । उनले गत अगस्ट २०२५ मा सम्पन्न सिड्नी म्याराथन सफलतापूर्वक पूरा गरेपछि यो दुर्लभ उपलब्धि हासिल गरेका हुन्। सिड्नी म्याराथनलाई यसै वर्षदेखि आधिकारिक रूपमा मेजर म्याराथनमा समावेश गरिएको छ।

यसअघि सिड्नी म्याराथन समावेश हुनुभन्दा अगाडि नै राईले सन् २०१९ मा  ६ वटा मेजर म्याराथन पूरा गर्ने पहिलो नेपालीको कीर्तिमान बनाइसकेका थिए। उनले गत भदौ ५ गते बर्लिन म्याराथन पनि पूरा गरेसँगै ७ वटा मेजर म्याराथन सम्पन्न गरिसकेका छन् । यी सात वटैमा कुल गरेर उनले १३ वटा मेजर म्याराथन पूरा गरेका छन् ।

म्याराथन दौडबाहेक राईले ट्रायथलनमा पनि नेपालको प्रतिनिधित्व गर्दै आएका छन्। सन् २०२४ मा अस्ट्रेलियामा आयोजित लङ डिस्टान्स ट्रायथलन वर्ल्ड च्याम्पियनसिप्समा उनले १३औँ स्थान हासिल गरे र त्यसबाट प्राप्त ६०० अमेरिकी डलर पुरस्कार रकम नेपालका वञ्चित बालबालिकाको उपचारका लागि दान दिएका थिए। त्यसैगरी, सन् २०२५ मा स्पेनमा भएको सोही प्रतियोगिताको एज ग्रुप वर्गमा उनले १४औँ स्थान हासिल गरे।

सन्तोष राईले सन् २०२५ मा नेपाली दौरा–सुरुवाल लगाएर सबैभन्दा छिटो म्याराथन दौडेर गिनिज वर्ल्ड रेकर्ड पनि कायम गरेका छन्। नेपाललाई विश्वसामु चिनाउन निरन्तर सक्रिय रहेका उनी नेपाल म्याराथन ७७७ (७ प्रदेशमा ७ दिनमा ७ म्याराथन) जस्ता कार्यक्रमका आयोजक तथा धरान रन (नेपाल) र नेपाल रन यूकेका संस्थापक पनि हुन्।

उनले हालसम्म पूरा गरेका मेजर म्याराथन :
– लन्डन म्याराथन – २०१७, २०१९, २०२१, २०२३, २०२४, २०२५
– बर्लिन म्याराथन – २०१७, २०२५
– बोस्टन म्याराथन – २०१८
– शिकागो म्याराथन – २०१८
– न्युयोर्क सिटी म्याराथन – २०१८
– टोकियो म्याराथन – २०१९
– सिड्नी म्याराथन – २०२५

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update