News 24 Television
जेन–जीले चुकायो ऐतिहासिक अवसर, विशेष महाधिवेशनमा जाने प्रचण्ड–प्रस्ताव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेन–जी आन्दोलनपछि अन्य दलका नेताहरूको तुलनामा बढी नै सक्रिय देखिएका छन् । मूलतः तत्कालीन सत्तारुढ दल काँग्रेस–एमालेप्रति गत भदौ २४ भएको आन्दोलनमा जेनजीहरुको ठूलो आक्रोश र आक्रमण भएको देखिन्छ । उनीहरुको तुलनामा माओवादीले कमै मात्र क्षति बेहो¥यो । आन्दोलनलगत्तै सार्वजनिक भएका प्रचण्डले पुनः जुर्मुराएर उठ्ने वाचा गरेको थिए । आन्दोलनका नाममा भएको आगजनीको खरानी र धुलो हेरेर निराश हुने छुट नरहेको भन्दै उनले धुलो टक्टक्याएर देश निर्माणमा लाग्न पार्टीपङ्क्तिलाई आह्वान गरे । 

यही असोज ३ गते संविधान दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रचण्डले मुलुक ७० भन्दा बढी युवाहरुको जघन्य हत्याको शोकमा रहेको बताएका थिए । भदौ २३ गते राज्यबाट भएको बर्बर दमन तथा गोलीबारी र २४ गते प्रदर्शनकारी पक्षबाट भएको विध्वंसले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको थियो । यस्तो बेला सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्नुपर्न प्रचण्डको भनाइ थियो । जेन–जी आन्दोलनलाई समयमै विवेकपूर्वक सम्वोधन गर्न नसक्दा मुलुक आज निकै तरल अवस्थामा प्रवेश गरेको उनको जिकिर थियो । जेन–जी आन्दोलनको बलमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न तत्काल  संसदबाट संविधान संशोधन गर्न सकिने ऐतिहासिक अवसर भए पनि त्यो चुकेको प्रचण्डको भनाइ छ । जेन–जीको माग नै प्रत्यक्ष निर्वाचित कार्यकारी रहेको स्मरण गराउँदै सुझबुझ नभएका कारण उक्त अवसर चुकेको उनले बताए । सत्तापलट गर्ने त्यत्रो जेन–जी आन्दोलनको उपलब्धि केवल एक अन्तरिम सरकार र निर्वाचन मिति घोषणामै सीमित भएको उनको भनाइ छ । 

जेनजीका माग र आफ्नो पार्टीका माग समान रहेको भन्दै जेनजीको प्यारो बन्न खोजेका प्रचण्डले देश र जनताविरुद्ध षड्यन्त्र अझै नसकिएको बताए । उनले आफूहरु निर्वाचनमा जान तयार भए पनि निर्वाचन नै नगराउने गरी अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास शुरु भइसकेको दाबी गरे । चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनावद्ध प्रयास हुनसक्ने उनको आशंका छ । अध्यक्ष प्रचण्डले संविधान र राष्ट्रपति संस्थालाई नै मासेर मुलुकलाई प्रतिगमनतिर फर्काउने भयानक खेल खेलिएको दाबी समेत गरेका छन् । उनले जेन–जी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि संविधान खारेज गर्ने र राष्ट्रपति संस्थामाथि पनि प्रहार गर्ने प्रयास भएको जिकिर गरे । रातभर राष्ट्रपति, प्रधानसेनापति र राजनीतिक दलका नेतहरुसँग छलफल भएको र संविधान तथा राष्ट्रपति संस्थालाई जोगाउँदै अन्तरिम सरकार गठनका लागि आफूले सहजीकरण गरेको उनको दाबी छ । 

जेन–जी आन्दोलनको प्रभावस्वरुप प्रमुख पुराना पार्टीहरूमा नेतृत्व हस्तान्तरणको माग जोडतोडले उठेको छ । विशेषगरी काँग्रेसमा महामन्त्रीहरु गगन–विश्वप्रकाशले यो माग उठाएका छन्, तर काँग्रेस सस्थापन पक्ष (देउवा पक्ष)का नेताहरु अझै पनि देउवाकै निर्णय मान्ने लाइनमा यथावत छन् । एमालेमा पनि ओलीको विकल्प खोज्ने बहस सुरु भएको छ, तर अध्यक्ष ओलीले तत्काल पद छाड्ने संकेत दिएका छैनन् । यता माओवादी केन्द्रमा भने अध्यक्ष प्रचण्डले नै विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । वर्तमान केन्द्रिय समिति र सबै कमिटीहरु विघटन गरेर मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रचण्डले आइतबारको पदाधिकारी बैठकमा राखेका थिए । पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार प्रचण्डकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव आएको छ । उक्त प्रस्तावमाथि यही असोज ९ गते बस्ने केन्द्रिय समिति बैठकमा छपलफल हुनेछ । 

पदाधिकारी बैठकमा प्रचण्डले पछिल्लो राष्ट्रिय र अन्तरराष्ट्रिय परिस्थितिबारे ब्रिफिङ समेत गरेका थिए । अहिले मुलुकमा जेन–जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले आगामी फागुनभित्र प्रतिनिधि सभाको निर्वाचन गर्ने दिशामा अग्रसर छ । त्यसअघि नै विशेष महाधिवेशन प्रस्ताव भएका काँग्रेस, माओवादी लगायत दलहरूको भावी नेतृत्व के कस्तो हुन्छ, हेर्न बाँकी छ ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update