News 24 Television
जेन-जी आन्दोलनले लगानीकर्ताको मनोबल कमजोर बन्यो : अध्यक्ष पाण्डे

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल कमजोर बनेको बताएका छन् ।

आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको उनले बताए । नेपाल आर्थिक पत्रकार संघले मंगलवार आयोजना गरेको अर्थतन्त्र पुनरूत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले कुल गार्हर्स्थ्य  उत्पादन (जिडिपी)को ५ प्रतिशत नोक्शान भएको जानकारी दिए । 

अध्यक्ष पाण्डेले भने– ‘उद्योगहरुमा कुल जीडीपीको ५ प्रतिशत असर पुुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ । अब छिट्टै माथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट के कस्तो सुविधा दिन सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ ।’

उनले अब अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे । ठूला उद्योगका लागि एउटा निश्चित समय निर्धारण तोकेर सहुलियत दिनसक्नुपर्ने सुझाव उनको  छ । उनका अनुसार अब शिक्षा प्रणालीलाई पनि सुधार गर्नु आवश्यक देखिएको छ । 

‘शिक्षामा लगानी छ तर, त्यसको प्रतिफल कम छ  । केकस्ता सुविधा दिएर काम गर्न सकिन्छ भनेर सल्लाह गरेर अगाडि बड्नुपर्छ,’ उनले भने ।

उनले केही समयअघि ज्वाइन्ट भेन्चरको लगानी आउन लागेको जानकारी दिँदै जेनजी आन्दोलनले त्यो लगानी रोकएिको धारणा राखे । केही महत्वपूर्ण प्राथमिकताका क्षेत्रहरु निर्धारण गरेर ती क्षेत्रमा काम गर्न जरुरी छ र उर्जा, पर्यटन, शिक्षा तथा कृषि लगायतका क्षेत्रमा अब काम गर्न आवश्यक छ । 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update