News 24 Television
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

    उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टर र ड्रोनबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । सो अवसरमा दुर्गा बन्दना प्रस्तुत गरिएको थियो । 

PRO-KTM-7R9A7491-1759146587.JPG
    फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ ।

    समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगको प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

    बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकहरूको बाक्लो उपस्थिति थियो । नेपाल टेलिभिजनलगायत सञ्चारमाध्यमले फूलपाती बढाइँको प्रत्यक्ष प्रसारण गरेका थिए । 

PRO-KTM-7R9A7419-(1)-1759146586.JPG

PRO-KTM-7R9A7545-1759146601.JPG

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update