News 24 Television
जेन–जीको रापसँगै पुराना दलहरूको शक्तिमा फर्कने होडले थप खतरा !

काठमाडौँ । पछिल्लो जेन–जी आन्दोलन र त्यसले ल्याएको राजनीतिक उथलपुथलसँगै मुलुकमा विभिन्न थरी स्वार्थकेन्द्रहरुको चासो र चलखेल बढ्न सक्ने आकलन गरिएको छ । अहिले निर्वाचनको म्यान्डेट पाएको अन्तरिम सरकारले मुलुकको बागडोर सम्हालिरहेको छ । सरकारका कतिपय आशलाग्दा कामसँगै विभिन्न विवादास्पद निर्णय समेत देखिएका छन् । यसले तोकिएको समय आगामी फागुनभित्र निर्वाचन हुन सक्छ या सक्दैन भन्ने संशय पैदा गराएको छ । यदि निर्वाचन भएन या निष्पक्ष र सर्वमान्य भएन भने यसले मुलुकलाई अर्को संकटमा लैजाने एकथरीको विश्लेषण छ ।

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले महासचिव मुलुक बहुपक्षीय द्वन्द्वमा फस्न सक्ने चेतावनी दिएका छन् । उनले ठूला पुराना दलहरुभित्र अझै पनि शक्ति र नेतृत्वमा रहनका लागि शीर्ष नेताहरुमा बहानाबाजी शुरु भइसकेको बताए । ती दलहरू चुनावमा नजाने समेत उनले अडकल गरेका छन् । प्रमुख दलहरु नै चुनावमा गएनन् भने वर्तमान सरकार समेत निरीह बन्ने अवस्था आउन सक्छ । जेन जी आन्दोलनको माग पुराना नेताहरुको नेतृत्व परिवर्तन रहेको भए पनि संकटको बेलामा नेतृत्वलाइ जोगाउनुपर्ने भनेर बहानाबाजी शुरु भइसकेको उनको ठहर छ । मुलुकलाई आज यहाँ डुबाउने यिनीहरु नै हुन् भनेर समाजमा आक्रोश देखाएर असफल राष्ट्र बनाइन लागेको समेत उनले बताए । अहिलेका नेताहरुबाट राजनीतिक दलहरु निर्वाचनमा नजाने स्पष्ट भइसकेको भन्दै निर्वाचन गराउन नसकेपछि मुलुक अर्कै दिशामा जाने अनुमान उनले गरे । चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ भन्ने शक्तिहरुले पनि खेल्ने क्रम जारी रहने र समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरुले खेल्नसक्ने समेत उनको विश्लेषण छ ।

भुसालले पुराना राजनीतिक पार्टीहरु नसुध्रिने हो भने नेपालका खराब दिन अझै बाँकी रहेको समेत बताएका छन् । लामो समयदेखि मुलुक दुर्घटनातर्फ गइरहेको तथ्य औँल्याउँदै उनले राजनीतिक पार्टीहरु र तिनका नीति तथा नेताहरुकै कारण राजनीति समेत दुर्घटनातिर गइरहेको बताए । जेन–जी आन्दोलनबाट भएका घटनाहरु आफ्ना लागि नयाँ नभएको र यसबारेमा पहिल्यैदेखि आफूले आवाज उठाइरहेको दाबी समेत उनको छ ।

भुसालले संकेत गरेजस्तै विभिन्न तहका व्यक्तिहरूले मुलुक थप द्वन्द्वमा जान सक्ने भन्दै चेतावनी दिइरहेका छन् । त्यो द्वन्द्व केवल सत्ताको झगडामा मात्र सीमित नभई सामाजिक, वैचारिक र भूराजनीतिक आयाममा फैलन सक्ने उनीहरुको विश्लेषण छ । पछिल्लो आन्दोलनको मुख्य शक्ति र उत्प्रेरकका रूपमा जेन–जी (युवा वर्ग) देखिएका छन् । उनीहरूबीचमै एकता, प्रस्ट भिजन र मिसन नहुनुले त्यो छरिएको असन्तुष्टि बहुपक्षीय द्वन्द्वको प्रारम्भिक विन्दु बन्न सक्छ । जेन–जीको असन्तुष्टि मुख्यतया बेरोजगारी, भ्रष्टाचार, अवसरको अभाव, र पुरानो राजनीतिक नेतृत्वप्रतिको वितृष्णामा केन्द्रित छ । तर यी कुराको तत्काल सुधार हुने संकेत देखिँदैन । नयाँ सरकारले जेन–जीका माग सम्बोधन गर्न सकेन भने उनीहरूको आक्रोश फेरि पनि अराजकता वा विद्रोहको रूपमा परिणत हुन सक्छ । यो असन्तुष्ट र ऊर्जावान युवा शक्तिलाई राजावादी वा विखण्डनकारी समूहहरू जस्ता अन्य शक्तिहरूले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नका लागि सजिलै प्रयोग गर्न सक्छन् ।

नेपालको राजनीतिमा लामो समयदेखि प्रभुत्व जमाएका पुराना दलहरू आफैँ बहुपक्षीय द्वन्द्वको प्रमुख स्रोेत र सहभागी समेत हुन् । विगतमा दलहरुकै गुटबन्दी, अस्थिर गठबन्धन, भ्रष्टाचार र कुशासनले गर्दा जनविश्वासमा ठूलो ह्रास आएको छ । जनआक्रोशको सामना गर्नुपरेपछि यी दलहरूभित्र सुधारवादी र पुरानै शैलीको नेतृत्व बिच तीव्र आन्तरिक द्वन्द्व देखा परिसकेको छ । यदि ती दलहरू नयाँ पुस्ताको भावनाअनुसार उनीहरुलाई विश्वासमा लिएर एकजुट भई सुधार गर्न सकेनन् भने संसदीय लोकतान्त्रिक प्रणाली नै असफल भएको घोषणा गर्दै राजावादी वा संवैधानिक कू गर्ने अन्य शक्तिहरूका लागि ढोका खुल्न सक्छ । अस्थिरताको फाइदा उठाउँदै राजतन्त्र पुनस्र्थापनाको माग गर्ने शक्तिहरूले वर्तमान संकटलाई संवैधानिक प्रणालीविरुद्धको द्वन्द्वमा परिणत गर्न सक्छन् । 

नेपालको अस्थिरताले भारत र चीन दुवैलाई आफ्नो रणनीतिक प्रभाव बढाउने बहाना दिन्छ । यसले गर्दा नेपाली राजनीतिक समूह र नेताहरू विदेशी हितअनुसार विभाजित भई आन्तरिक राजनीतिक निर्णयहरूमा समेत बाह्य द्वन्द्वको प्रतिबिम्ब देखिन सक्छ । एमसीसी जस्ता परियोजनाहरूमा हुने विवादले अमेरिकी÷पश्चिमी प्रभाव र चिनियाँ÷भारतीय प्रभाव बिचको छद्म–द्वन्द्वलाई समेत नेपालको भूमिमा बढावा दिन सक्छ । यसर्थ नेपालको वर्तमान राजनीतिक अवस्था अत्यन्त संवेदनशील मोडमा छ । सबै पक्षको सुझबुझले अघि नबढ्ने हो भने मुलुक बहुपक्षीय द्वन्द्वको सिकार हुनबाट कसैले रोक्न सक्दैन । 
 

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update