News 24 Television
आज साँझदेखि आइतबारसम्म भारी वर्षा, ४० जिल्लामा बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । 

 ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँग गरेको छलफलमा विभागका महानिर्देशक कमलराम जोशीले अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्ने बताए ।

जोशीले विशेषगरी यस अवधिमा बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाले विशेष सतर्कता अपनाउनसमेत आग्रह गरेका छन् ।  “यी प्रदेशहरूमा आज राति १० देखि आइतबार बिहान २ बजेसम्म २०० मिलिमिटरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जरुरी छ”, उनले भने ।

यो समयमा अनावश्यक रूपमा यात्रा नगर्न जोशीले आग्रह गरे । विभागका अनुसार देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार जारी अविरल वर्षाका कारण काठमाडौँ उपत्यका लगायत देशभरका करिब ४० जिल्लामा बाढीको उच्च जोखिम रहेको छ । उच्च जोखिमयुक्त जिल्लामा चितवन, मकवानपुर, सिन्धुली, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी लगायत रहेका छन् ।
 

 

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update