News 24 Television
तराईमा उच्च वर्षा,  कुन ठाउँमा कति भयो वर्षा ?

काठमाडौँ । देशका विभिन्न स्थानमा मनसुनी वर्षा भइरहेको छ । विशेषगरी तराईका जिल्लाहरूमा उच्च भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी २८९ र रौतहटको गौरमा २५९ मिलिमिटर वर्षा भएको छ । वीरगञ्जमा २४७, पर्सामा २३१ र बारामा २२२ मिलिमिटर वर्षा भएको छ ।

    यस्तै, मकवानपुरमा १३४ र काभ्रेपलाञ्चोकमा १२२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकासहितका विभिन्न जिल्लामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । 

    विभागका अनुसार बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरूमा अति भारी वर्षा भएपछि हालसम्म १० वटा केन्द्रमा खतराको तह पार गरेकाले साइरन बजाइएको छ । 

    विभागको बाढी पूर्वानुमान महाशाखाले काभ्रे–रोसी, मनोहरा–काठमाडौँ, बागमती–काठमाडौँ, लालबकैया–मकवानपुरमा जलसतह सतर्कता तह माथि र बढ्दो क्रममा रहेको जनाएको छ । 

    बागमती प्रदेश र मधेस प्रदेश भएर बहने प्रायः सबै नदी नाला सतर्कता तह नजिक र बढ्दो क्रममा रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरिएको छ । 

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update