News 24 Television
वर्षा रोकिए पनि सडक क्षति र पहिरोको जोखिम कायमै

काठमाडौँ । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले मनसुन अन्त्यतिर पुगेको बताएका छन् । उनले वर्षा रोकिएर घाम लागे पनि सडक क्षति र पहिरोकाे जोखिम भने अझै कायमै रहेको बताए ।

मनसुन बाहिरिने बेलामा पूर्वी नेपालमा भएको असामान्य भारी वर्षाले सडक र नदी प्रणालीमा व्यापक क्षति पुर्याएको बताउँदै उनले कतिपय राजमार्गमा चिरा परेकोले पहिरोको जोखिम कायमै रहेको बताए । घाम लागेपछि माटो सुक्दै जाँदा चिरा बढ्ने र सडक भासिने सम्भावना भएकोले राजमार्गहरूमा अझै सतर्कता आवश्यक रहेको उनले बताए ।

1759655053-Q5kMN-1759661943.jpg
काठमाडौं उपत्यकाका लगायत आसपासका क्षेत्रमा पानी पर्न रोकिएकोले नदीहरूको सतहमा तत्काल बाढीको खतरा भने घट्दै गएको छ । पूर्वी क्षेत्रमा सक्रिय रहेको मौसमी प्रणाली क्रमशः बाहिरिन लागेको र त्यसको असर आईतवार साँझसम्म घट्ने उनले जानकारी दिए । पश्चिम नेपालमा यस वर्षाको उल्लेख्य प्रभाव नपरेको र आगामी सोमवार र मंगलवार सुदूरपश्चिममा सामान्य प्रभाव मात्र देखिने सम्भावना रहेको पनि उनले बताए । मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभाव भने देखिन सक्ने सम्भावना भएको उनको भनाई छ ।

मौसमसम्बन्धी पूर्वसूचना महत्वपूर्ण रहेको बताउँदै उप्रेतीले जल तथा मौसम विभागले समयमा नै जारी गरेको मौसम पूर्वानुमान र चेतावनीका कारण ठूलो धनजन क्षति हुनबाट जोगिएको बताए । 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update