काठमाडौँ । नेपालमा हालै भएको अविरल वर्षा र त्यसबाट उत्पन्न विपद्को व्यवस्थापनमा सरकारले चालेका कदमहरूको प्रशंसा भइरहेछ । विगतको भन्दा फरक पूर्वतयारी र द्रुत प्रतिकार्यका कारण यसपटक नागरिकले सरकार साथमा रहेको अनुभूति गरिरहेका छन् । यसपटक विगतका विपद् व्यवस्थापनबाट पाठ सिक्दै सरकारले चनाखो सक्रियता देखाएको पाइन्छ । साथै तीनवटै सुरक्षा निकायले प्रतिकूल अवस्थाका बाबजुद उच्चतम समन्वय र सक्रियता देखाए । जेनजी आन्दोलनका क्रममा नांघेझार, लुटपाट र आगजनी गरी लखेटिएका सुरक्षा निकाय लगत्तैको विपद व्यवस्थापनमा ज्यानको बाजी राखेर खटिएपछि अहिले प्रशंसा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागबाट अविरल वर्षाको पूर्वसूचना पाउनेबित्तिकै त्यसको गाम्भीर्यता बुझेर सरकारले द्रुत गतिमा कदम चाल्यो । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले शनिबार देशवासीको नाममा एक भिडियो सन्देश जारी गर्दै सरकार नागरिकहरुको साथमा रहेको बताइन् । नागरिकको सुरक्षा नै सरकारको प्रमुख चिन्ता रहेको भन्दै उनले विनम्रताका साथ सबै तहबाट सजगता अपनाउन र आवश्यक परेका बखत सरकारसँग सहयोग माग्न अपिल गरिन् । सरकारका मन्त्रीहरु समेत उत्तिकै सक्रिय भएर लागिपरे भने तामझाम नगरी विपदजन्य अवस्थामै फिल्डमा खटिए । उच्च नेतृत्वले समयमै चासो देखाउनुले नागरिकमा सकारात्मक सन्देश गयो ।
सम्भावित ठूलो जोखिमलाई मध्यनजर गर्दै सरकारले सवारी आवागमनमा कडाइ गर्नुका साथै २ दिन थप सार्वजनिक बिदा दिने निर्णय गर्यो । यसले मानिसहरूलाई सुरक्षित स्थानमा रहन र अनावश्यक यात्राबाट जोगिन मद्दत गर्यो । विपद् प्रतिकार्यमा सरकारले सबै संयन्त्रलाई तत्काल परिचालन गर्नमा ध्यान दिएको पाइन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अत्यावश्यकबाहेक यात्रा नगर्न र सतर्कता अपनाउन आग्रह गर्दै समयमै सूचना जारी भयो । बाढीपहिरोबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि सबै सरकारी संयन्त्र (सेना, प्रहरी, सशस्त्र प्रहरी, र अन्य निकायहरू) लाई परिचालन गरियो ।
साधन स्रोत अभावका बीच पनि नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै सेनाको उपस्थिति प्रशंसनीय देखिन्छ । नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि देशभर २० हजार ४८५ जनशक्ति परिचालन गरेको देखिन्छ । विपद् व्यवस्थापन कार्यालयहरु, मातहतका गुल्महरु र प्रहरी कार्यालयहरुबाट यो संख्यामा जनशक्ति परिचालित थियो । यस्तै सशस्त्र प्रहरी बलले आफ्ना हरेक युनिटबाट ३५ जनाको फौज विपद् उद्धारमा परिचालन गरेको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८२ अन्तर्गत रहेर सशस्त्र प्रहरी बलका सम्पूर्ण जनशक्तिहरुलाई स्ट्याण्डबाइ राखिएको र नेपालभर ७ हजार ६१५ जनशक्तिलाई तयारी अवस्थामा राखेको बताइएको छ । जसमा १३५ जना गोताखोर र ३ हजार ९ सय जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति रहेका थिए ।
नेपाली सेनाले पनि मनसुनजन्य विपद् प्रतिकार्यका लागि २३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु परिचालन गरेको जनाएको छ । सेनाका ७७ वटै जिल्लाहरुमा तैनाथ ९४ वटा गणहरुबाट एक गुल्म र ५८ वटै गुल्महरुमा एक स्ट्याण्ड बाइ फौज आधारभुत उद्धार सामग्रीहरुसहित परिचालन गर्नका लागि तयारी अवस्थामा राखेको थियो । २७ स्थानमा २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु आफ्ना इक्वीपमेण्टहरुसहित अग्रिम तैनाथ गरिएको अवस्थामा राखिएको तथा सुर्खेतमा र इटहरीमा एक—एक वटा हेलिकप्टर तैनाथ गरिएको बताइएको छ ।
विगतमा विपद् व्यवस्थापनलाई विशुद्ध राजनीति वा तत्कालको राहतमा सीमित गर्ने र विपदपछि नेताहरु हेलिकप्टरमार्फत कर्मकाण्डी अवलोकन गर्ने गरिएको आरोप लाग्थ्यो । यसपटक यस्तो आरोपबाट सरकारका मन्त्रीहरु टाढै छन् । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको कानुनी र संस्थागत संयन्त्र परिचालनमा सरकार जिम्मेवारी रुपमा लागेको देखिन्छ । यसपटकको फरक विपद् आइसकेपछि गरिने ‘प्रतिक्रिया’भन्दा विपद् आउनुअगावै गरिने ‘पूर्वतयारी’मा बढी ध्यान दिएको देखिन्छ । जसले गर्दा सरकारको प्रशंसा भइरहेको हो ।