News 24 Television
जेन–जीका गतिविधि बढेसँगै काठमाडौंको सुरक्षा व्यवस्था मजबुत पारियो

काठमाडौँ । जेन–जी युवाहरुका गतिविधि बढ्न थालेपछि संघीय राजधानी काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति खारेजी र जेन–जी विद्रोहमा दमनकारी भुमिका खेल्ने शिर्षस्थ नेताहरुलाई पक्राउ गर्न चौतर्फी दबाब बढ्न थालेपछि काठमाडौंका मुख्य सार्वजनिकस्थल तथा सरकारी कार्यालयहरुमा तैनाथि बढाइएको हो ।

जेन–जी पुस्ताका युवाहरुले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका छन् ।

जेन-जीको एक समूहले मंगलवार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र सबै आयुक्तहरुको राजीनामाको माग गर्दै औपचारिक रुपमा निवेदन समेत दर्ता गराएको छ ।

ओली र लेखकलाई पक्राउ गर्नेबारे सोमवार साँझ प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखहरुसँग छलफल समेत गर्नुभएको थियो । यद्यपि प्रहरीले लिखित जवाफ माग गर्दै जाहेरी लिन नमानेको समेत बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update