
काठमाडौं । फुटबल खेलेर नाम र दाम कमाउने धेरैको उद्देश्य र लक्ष्य हुन्छ । नेपालमा राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय फुटबलर बन्ने सपनामा बाँच्ने पनि धेरै छन् । आधुनिक फुटबलका हस्ती मेस्सी, रोनाल्डो र नेइमार खर्बपति भएको देख्दा नेपाली खेलाडी उनैलाई आइडल मान्छन् । तर, विडम्बना नेपाली फुटबलमा यतिबेला सन्नाटा देखिन्छ । न लिग छ, न कुनै एक्स्पोजर, छ त केवल राजनीति ।
नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) विरामी अवस्थामा छ । आइसीयू मै पुगेसमान रहेको एन्फा जिवनरक्षाको अवस्थामा पुग्दा खेलाडी विचल्ली छन् ।
चन्द्रसूर्य अंकित जर्सि बोकेर देशको नाम चम्काउन तम्तयार खेलाडी भन्न थालिसके, अब त अत्ति भयो । हो, नेपाली फुटबलमा सन्नाटा छाएको धेरै भइसक्यो । न कुनै घरेलु लिग छ न कुनै एक्स्पोजर ।
एन्फा राजनीतिक चंगुलमा, खेलाडीको विजोग
नेपाली फुलबल क्षेत्रलाई धरासायी नै बनाएको छ एन्फाको राजनीतिले । एन्फाको नालायकीपनले मुलुकको फुटबलक्षेत्रसँगै खेलाडीलाई समेत डुबाएको छ ।
फुलबल खेलेर जिविकोपार्जन गर्ने नेपाली खेलाडी घरेलु फुटबल नहुँदा आर्थिक पक्ष कमजोर हुँदैजाँदा मानसिक रुपमा समेत कमजोर अवस्थामा पुगेका छन् । घरेलु फुटबलको मेरुदण्ड ए डिभिजन लिग तीन वर्ष देखि हुन सकेको छैन् । पछिल्लो पटक २०८० जेठमा ए डिभिजन लिग सम्पन्न भएको थियो । खेलाडीको मुख्य आर्यआर्जनको माध्यम घरेलु लिग नहुँदा उत्पन्न समस्याबारे राष्ट्रिय टोलीका खेलाडी बोल्न थालेका छन् ।
डिफेन्डर अनन्त तामाङले सामाजिक संजालमा स्टाटस लेख्दै लिग नहँुदा जिवन चलाउनै धौधौँ भएको कारुणीक विश्लेषण गरेका छन् । उनको स्टाटसले फुटबल र फुटबल मनपराउनेका आँखा रसाएका छन् । तर, एन्फा कानमा तेल हालेर बसेको छ, बरु पुर्व निर्धारित लिग नहुँने भन्दै बाहानाबाजीमा लागेको छ ।
खेलाडीको वेदना र दुःख सुनेर तंग्रिनु पर्ने एन्फा मूकदर्शक बन्न पुगेको छ । फुटबल क्षेत्र नै अन्योलतातर्फ धकेलिरहेको छ । यसअघि एन्फाले असोज ७ मा क्यालेण्डर सार्वजनिक गर्दै पुष ९ देखि २६ सम्म पुरुष ए डिभिजन लिग आयोजना गर्ने घोषणा गरेको थियो ।
यतिबेला एन्फा पन्छिरहेको छ । लिग सर्नुमा एन्फाले मुख्य कारण होम एण्ड अवेलाई मानेको छ । क्लवहरु अवेमा खेल्न राजी नभएको गुनसो छ । तर यसअघि होचुवाको भरमा एन्फाले लिग होम एण्ड अवेमा हुने घोषणा गरेको थियो । तर यतिबेला आफ्नै निर्णयबाट पछि हट्दै लिगलाई नै अन्योलतातर्फ धकेलिदिएको छ । अन्योलग्रस्त लिगबारे एन्फाको गोलमोटल जवाफ छ ।
पंखजविक्रम नेम्बाङ नेतृत्वको एन्फा पुर्ण रुपमा असफल हुँदा पदाधिकारी विचको विवाद अर्काे मुख्य कारण बनेको छ ।
अध्यक्ष नेम्वाङका प्रमुख विश्वास पात्र बनेर चुनाव जितेका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले उनको राजीनामा नै माग गरेका छन् । त्यतिमात्रै होइन खड्काले आर्थिक अनीयमतिताको प्रश्न समेत उठाएका छन् । यसले एन्फा भित्रको अन्तर विरोध र राजनीति छताछुल्ल हुन्छ ।
नेपाली राष्ट्रिय फुटबल टोली चार दर्जन बढि खेलाडी विदेश पलयान हुँदा समेत एन्फालाई चासो र चिन्ता छैन् । बरु खेलाडीको स्वचाहाना भन्दै उम्किने गरेको छ ।
ती मध्येका चर्चित नाम हुन्, विमल घर्तीमगर । नेपाली फुटबलका भविष्यका रुपमा हेरिएका विमल सहितका ४० बढि खेलाडी पलायन हँुदा समेत एन्फा मस्त निद्रामा छ । यस्तो अवस्थामा नेपाली फटबल बर्बादिको बाटोमा पुगेको छ । यसमा संवद्ध निकाय चनाखो हुन जरुरी देखिन्छ । नभए नेपाली फुटबलको कुनैबेलाको उम्दा गति कुनै कथाकाहानी जस्तै बन्ने खतरा प्रष्ट छ ।