News 24 Television
‘निर्वाचन बिथोल्न केही तत्वहरू सक्रिय छन्’ - गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरु निर्वाचनको विथोल्नको लागि सक्रिय भएको आरोप लगाएका छन् ।जिल्ला समन्वय समिति भक्तपुरको कार्यलय अनुगमनको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

निर्वाचनको माहोल बिगार्न लाग्नेहरुलाई सरकारले सम्झाईबुझाई गर्ने बताउँदै गृहमन्त्रीले सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने बताए । वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन गराउनका लागि बनेको भन्दै उनले तोकिएकै मितिमा सरकारले निर्वाचन गराउने दाबी गरे ।

निर्वाचनको लागि सरकारले सरोकारवाला सबैलाई संवादमा आउन आह्वान गरेको समेत जिकिर गर्दै उनले राजनीतिक दलहरुले भने सरकारले आफूहरुलाई बेवास्ता गरेको आरोप लगाए । 

उनले भने, ‘निर्वाचनका लागि सबै संवादमा आउन पर्यो । स्टेक होल्डरहरु संवादमा आउनुपर्यो । सरकारले संवादमा सहजीकरण गर्छ । राष्ट्रपतिज्यूले पनि संवाद शुरु गरिसक्नुभएको छ । हामीले हाम्रो तहबाट पनि संवादको लागि आह्वान गरिरहेका छौँ । यो स्थितिमा स्टेक होल्डर कसैले पनि परिस्थितिलाई भड्काउने काम गर्न भएन । निर्वाचन गर्ने हो, फ्रेस म्याण्डेड लिएर फेरि जोलाई आउनलाई त्यो अधिकार छ, राजनितिक अधिकार सुनिश्चित गर्नका लागि नै यो सरकारकार बनेको हो । फ्रि र फेयर ईलेक्सनको लागि बनेको हो । यसमा सहयोग गर्न पर्यो । कोही कोही एलिमेन्टले भड्काउन खोजेको देखिन्छ । अब त्यो एलिमेन्टहरुलाई सकभर सम्झाई बुझाई नै गर्ने हो । त्यो एलिमेन्टहरुले भड्काउन नै खोजेको हो भने सरकारले त्यतिखेर आफ्नो ढंगले काम गर्छ । निर्वाचन जसरी नी गराउँछ, तोकिएकै मितिमा गराउँछ ।’ 

उनले प्रहरी कर्मचारी लगायतको मनोबल उकास्ने काम पनि सरकारले गरिरहेको बताए । व्यापक राजनीतिक हस्तक्षेप भएको कारण प्रहरीको मनोबल गिरेको दाबी गर्दै उनले वर्तमान सरकारले उठाउने कोशिस गरिरहेको बताए । राजनीतिक दलहरुले प्रहरीको दुरुपयोग गरेको उनको भनाई थियो । 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update