-1760621602.jpg)
काठमाडौँ । जेन–जी आन्दोलनपछि नेपाली राजनीतिमा मुख्य दुई दलका शीर्ष नेताको प्रस्तुतिमा फरकपन देखिएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समग्र परिस्थितिप्रति नम्र र संयमित रूपमा प्रस्तुत भइरहेका छन् । उनले आन्दोलनपछिको अवस्थालाई गम्भीरतापूर्वक लिएर वार्ता र समाधानतर्फ जोड दिएको देखिन्छ । भदौ २४ गते आफ्नै निवासमा सांघातिक आक्रमणमा परेका देउवा उपचारमार्फत स्वास्थ्य गरी एक महिनापछि सार्वजनिक भए । मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिए । साथै आफूले आगामी महाधिवेशन मार्फत नेतृत्व छाड्ने बताए । उनको प्रस्तुति फेरिएको थियो, नम्र र सन्तुलित थियो । जसले गर्दा अहिले काँग्रेसभित्रै र बाहिर सबैको प्रशंसा पाइरहेका छन् ।
देउवाले पार्टीको आगामी १५ औं महाधिवेशनबाट आपूmले पार्टीको नेतृत्व छोड्ने दोहोर्याएका छन् । घरमा सधैं एकै जना मुली नरहने दृष्टान्त पेश गर्दै उनले पार्टीको वैधानिक व्यवस्था र आफ्नो राजनीतिक इच्छा पनि अब पार्टीको नेतृत्वमा नरहने रहेकोले नेतृत्व हस्तान्तरण गर्ने बताए । जेन–जीका जायज माग सम्बोधन गनुपर्ने बताएका देउवाले भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनाबद्ध रहेकोले छानबिन समेत हुनुपर्ने माग राखे । घटनापछि आइरहेका तथ्यहरुले उक्त आन्दोलनमा घुसपैठ भएको प्रमाणित गरिरहेको उनले बताए । जेन–जीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई भने सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । उनले कसैप्रति उत्तेजक अभिव्यक्ति नदिइकन तत्कालिक नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर ती घटनाहरुको अनुसन्धान हुनुपर्नेमा जोड दिए ।
देउवाको पछिल्लो निर्णय र प्रस्तुतिको सम्मान गर्दै काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रशंसा गरेका छन् । उनले लेनेका छन्– ‘कार्यसमितिमा बहुमत थियो र छँदैछ तर दिनुभयो कार्यवाहक र जानुभयो हामी सबैलाई आगामी यात्राको परिक्षा सुम्पिएर । समयको स्वरलाई सम्बोधनको यो कर्मप्रति हृदयदेखि सम्मान !’ अर्का महामन्त्री गगन थापाले सभापति देउवाले महत्वपूर्ण निर्णय गरेको भन्दै प्रशंसा गरेका छन् । विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर संकलनमा जुटेका थापाले हस्ताक्षर बुझाउन पार्टी कार्यालय पुगेका प्रतिनिधिहरूलाई प्रतिक्रिया दिने क्रममा देउवाले सभापतिको हिसाबले अन्तिम सम्बोधनजस्तै गरेर सबै काँग्रेसजनको मन जितेको बताए ।
उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने आन्दोलनकारी र विरोधीहरूप्रति उग्र र कठोर रूपमा प्रस्तुत भएका छन् । उनले आन्दोलनलाई अराजक तत्वको घुसपैठका रूपमा चित्रण गर्दै कडा कारबाहीको माग गरिरहेका छन्, जसले गर्दा उनको अभिव्यक्ति र अडान बढी उत्तेजक र आक्रामक देखिएको छ । साथै वर्तमान सरकार हाहाहुहु र आगजनीको बलमा बनेको, नेपालीको प्रतिनिधि नभएको लगायत आरोप लगाइरहेका छन् ।
ओलीले एमालभित्रै आफूविरुद्ध बोल्नेहरुलाई पनि दमन गर्दै आएका छन् । ओलीकै कारण मुलुकमा पछिल्लो अराजकता निम्तिएको भन्दै उनले नेतृत्व हस्तान्तरण गर्न दबाब बढेको छ । यद्यपि उनी सजिलै पद छाड्ने मनसायमा छैनन् । उनले बुधवार शुरु भएको एमाले केन्द्रिय कमिटी बैठकमा कसैले फेसबुकमा लेखेको आधारमा आफूले पद छोड्न नसक्ने अडान राखे । आफूले पदबाट हट्नुपर्छ भन्नेकुरा फेसबुकले नभई पार्टी केन्द्रिय कमिटीले भन्ने विषय रहेको बताउँदै अध्यक्ष ओलीले पार्टी केन्द्रिय कमिटीले निर्णय गरेमा मात्रै आफू खुशीसाथ पद त्याग गर्न तयार रहेको बताए ।
संक्षेपमा भन्नुपर्दा, देउवाको अभिव्यक्तिमा जेनजी आन्दोलनबाट भएको क्षतिप्रतिको दुःख र गम्भीरता झल्कन्छ भने ओलीको अभिव्यक्तिमा आन्दोलनप्रति आक्रामक प्रतिक्रिया, राजनीतिक प्रतिशोधको आशंका र युवाहरूको कार्यशैलीप्रति कटाक्ष तथा अहंकार देखिन्छ ।