
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति सुरक्षा भंग भएको बताएका छन् । आईतवार काठमाडौमा आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रममा उनले यस्तो बताए ।
उनले आफू प्रधानमन्त्री हुँदा सुरक्षा व्यवस्था कायम भए पनि हाल भंग भएको दाबी गरे । देशमा त्रासदीको वातावरण सिर्जना भएको उनको भनाई छ । हाल देश भताभुङ्ग भएको, अस्थिरता र अनिश्चयमा गएको बताउँदै ओलीले आफूले देश विकास र सार्वभौम सत्ताको संरक्षण गरेर अघि बढिरहेको दाबी गरे । देश, जनता र मानव जातिप्रति आफ्नो सधैँ बफादारिता रहने बताउँदै उनले हाल पत्रकारहरु समेत असुरक्षित रहेको बताए । पत्रकारहरु लेखेकै आधारमा डराएर हिड्नुपर्ने, त्रसित भएर बस्नुपर्ने अवस्था आफू प्रधानमन्त्री हुँदा नरहेको पनि दाबी गरे ।
ओलीले भने, ‘म प्रधानमन्त्री हुँदा पत्रकारहरु कसैले अघि मैले लेखेको लेखको बापतमा, विषयमा हमला गर्लाकी भनेर पल्याकपुलुक हेरेर हिँड्नुपर्ने, डराउँदै हिँड्नुपर्ने, लेख्नुभन्दा अगाडी सेल्फ सेन्सरसीप गर्नुपर्ने, आफुले आफैलाई रिट्रिक्सन गर्नुपर्ने, त्रसित भावले गाईडेड हुने अवस्था थिएन भन्ने म दाबी गर्छु । अहिले साथीहरुलाई फेरि म सरकारमा फर्किन्छु कि भन्ने चिन्ता छ । किनभने त्रास छ नि मनमा । के भनेको हो मेरो बौद्धिकताले अलिकति भ्याउदिन । यो के भनेको हो ? शान्ति सुव्यवस्था थियो भंग भएको छ । निर्धक्कको वातावरण थियो त्रासदी भएको छ । देश विकासको बाटोमा अगाडी वढ्दै थियो, सार्वभौम सत्ताको संरक्षण गरेर अगाडी बढ्दै थियो, त्यो भताभुङ्ग भएको छ । अस्थिरतामा गएको छ । अनिश्चयमा गएको छ । कसैलाई मन परेपनि नपरेपनि यस देशप्रति मेरो बफादारिता छ । यस देशका जनताप्रति मेरो बफादारिता छ । मानव जातीप्रति मेरो बफादारिता छ ।’
उनले देशमा समृद्धि, समानता, शान्ति सुव्यवस्था विश्वसनिय ढंगले स्थापना हुनुपर्नेमा जोड दिए । सबैले आफ्नो जीउधन, अधिकार, सम्पत्तिको रक्षा पाउनुपर्ने र सुरक्षाको प्रत्याभुति हरेक मानिसमा हुनुपर्ने उनको भनाई छ ।