
कास्की । तिहार नजिकिँदै गर्दा पोखराका दर्जनौं विक्री केन्द्रबाट स्थानीय उत्पादन सयपत्री फूल विक्री वितरण भइरहेको छ । पहिले भारत र तराईबाट फूल आयात गर्नुपर्ने अवस्था रहेपनि अब पोखरा नै सयपत्री उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । स्थानीय कृषकहरू खेती र विक्रीमा व्यस्त छन्, जसले गर्दा यस वर्ष करिब चार करोड रुपैयाँ बराबरको फूल कारोबार हुने अनुमान गरिएको छ ।
तिहार पर्वको रौनक छाएसँगै तथा भाइटीका नजिकिँदै गर्दा पोखराका कृषक सयपत्री फूलखेती तथा बिक्री वितरणमा व्यस्त छन् । पछिल्ला वर्षहरूमा स्थानीय स्तरमै सयपत्रीको उत्पादन बढ्दै गएपछि पोखरा अब फूलखेतीमा क्रमशः आत्मनिर्भर बन्दै गएको छ ।
पहिलेका वर्षहरूमा भारत तथा तराई क्षेत्रबाट सयपत्री ल्याउनुपर्ने अवस्था रहे पनि केही वर्षयता पोखराका कृषकले नै बजार आपूर्ति गर्न थालेका छन् । यस वर्ष तिहारमा करिब चार करोड रूपैयाँको फूलको कारोबार हुने महानगरको अनुमान छ ।
यस वर्ष महानगरले फूलको बिक्री मूल्य प्रतिकिलो ३०० देखि ४०० रूपैयाँ तथा प्रतिमाला १०० रूपैयाँदेखि १५० रूपैयाँसम्म निर्धारण गरेको छ । यस्तै, प्रतिथुंगा १५ देखि २० ग्रामको पाँच रूपैयाँ, १० देखि १५ ग्रामको चार रूपैयाँ र पाँचदेखि १० ग्रामको दुई रूपैयाँ बिक्री मूल्य निर्धारण गरिएको छ ।
उत्पादकलाई बिक्रीमा सहजता ल्याउने उद्देश्यले महानगरपालिकाले पोखराका विभिन्न २५ ठाउँमा बिक्रीवितरण केन्द्रसमेत निर्धारण गरेको छ । यता युवा तथा कृषकलाई प्रोत्साहन गर्दै बजारीकरणको व्यवस्थापनमा पोखरा महानगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरिया बताउँछन् ।
यस वर्ष पोखरामा करिब ३ सय रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ । स्थानीय मागलाई मध्यनजर गर्दै आगामी वर्ष उत्पादन क्षेत्र अझै विस्तार गरिने योजनामा पोखरा महानगरपालिका छ ।
यता कृषकहरूले पनि खेतीको क्षेत्र विस्तारसँगै राम्रो आम्दानी गर्न थालेका छन् । सयपत्री खेतीले घरखर्चका साथै शिक्षा र स्वास्थ्यमा समेत सहयोग पुगेको छ । जसले गर्दा सयपत्री खेतीका कृषकहरु उत्साहित बनेका छन् ।
सयपत्री खेतीले पोखराका कृषकहरूलाई आर्थिक रूपमा सबल बनाउँदै ग्रामीण रोजगारी सिर्जनामा पनि योगदान दिएको छ । स्थानीय उत्पादनले बजारमा विदेशी फूलको प्रतिस्पर्धा घटाएको छ भने कृषकहरू आत्मनिर्भर बन्ने दिशामा अघि बढेका छन् । पोखरामा माग पनि राम्रो रहेको र फूलहरू खोसाखोस कै अवस्था रहेको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरिया बताउँछन् ।
सयपत्री फूलखेतीले पोखराका कृषकहरूलाई आर्थिक रूपमा सबल बनाउँदै आत्मनिर्भरताको बाटोमा अघि बढाएको छ । स्थानीय उत्पादनले आयातमा निर्भरता घटाएको छ भने फूल बजारमा पनि नयाँ उत्साह देखिएको छ । तिहारको रौनकसँगै पोखरामा सयपत्री खेतीले कृषकका अनुहारमा खुशी ल्याएको छ ।