काठमाडौँ । जेन–जी आन्दोलनको बलमा बनेको अन्ततः जेनजीप्रति नै गैरजिम्मेवार बन्दै गएको भन्दै आन्दोलनरत विभिन्न समूह आक्रोशित भइरहेका छन् । यसै क्रममा जेन–जी पुस्ताका युवाहरुलाई एकताबद्ध हुन र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । जेन–जी समूहरुलाई एकताबद्ध भई शहीदका सपनाहरु पूरा गर्न खबरदारी गर्न जेन–जी युनाइटेडको नामबाट शुक्रवार प्रदर्शन गरिएको हो । प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी थिए । प्रदर्शनकारीहरुले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’, ‘शहीदहरुको रगत नबिर्स’, ‘देशका घाउहरु हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा सहभागि जेन–जी युवा आनन्दमान साम्पाङले मुलुकको विकास र समृद्धिको लागि सबै जेन–जीहरु एक हुनुपर्ने बताउँदै सरकार र सञ्चार माध्यमहरुलाई समेत नकारात्मक सन्देश फैल्याएर जेन–जीहरुलाई छुट्याउने काम नगर्न चेतावनी दिए ।
नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका जेनजी युनाइटेडका समूहका प्रदर्शनकारीले जेन–जी समूहलाई एकताबद्ध गर्न सरकारले समेत सहयोग गर्नुपर्ने माग राखेका छन् । बिहीबार भाइटीकाकै दिन उक्त समूहले राष्ट्रिय झण्डासहित प्रर्दशन गरेको थियो । गत उनीहरुले शहीदहरुको तस्बिर राखेर भाइटीकाको दिन माल्यार्पण गरेका थिए । सरकारलाई जेन जी शहीदको माग पूरा गर्न दबाब दिँदै शुक्रबार पनि प्रदर्शन जारी राखेका छन् । अन्तरिम सरकारले जेन—जीका उद्देश्य पूरा गर्नतर्फ ध्यान नदिएको भन्दै शहीद तथा घाइतेका परिवारहरु प्रदर्शनमा सामेल भएका छन् ।
बिहीबार दबाबमुलक कार्यक्रमा माईतीघर पुगेका जेन—जी आन्दोलनका शहीद योगेन्द्र गौतमका मामा कमल सुवेदीले देशभरका जेन—जीहरु एक ढिक्का भएर लाग्नुपर्ने बताए । सोही सन्देश दिन घाईते, शहीद परिवार तथा जेन जीहरुको सामुहिक दबाब कार्यक्रम आयोजना गरेको उनको भनाइ थियो । सरकार शहीदका सपना पूरा गर्नतर्फ नलागेको आरोप लगाउँदै उनले सरकारलाई खबरदारी गरे । अन्तरिम सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको उनको आरोप छ । आन्दोलनका दोषी र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, संविधान संशोधन हुनुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्ने उनको माग छ ।
मुलुक चिर्वाचनतर्फ अघि बढिरहँदा आन्दोलनका उपलब्धि संरक्षण गर्नेगरी जेनजी समूहहरु एकताबद्ध हुनुपर्ने आवाज उठिरहेको छ । पछिल्लो समय थरी थरी जेनजी समूहहरु देखा पर्ने, थरी थरी माग लिएर सरकारलाई दिने तथा निर्वाचन आयोगमा समेत थरी थरीका पार्टीहरु दर्ता गर्ने क्रम बढेको छ, जसले आन्दोलन कमजोरी हुने र पुराना राजनीतिक शक्तिहरुलाई नै लाभ पुग्ने विश्लेषण भइरहेको छ ।

