News 24 Television
भारतमा भाइरल ट्रेण्ड : कक्रोच जनता पार्टी कसरी उदायो ?

काठमाडौं । भारतमा व्यंग्यात्मक रूपमा सुरु गरिएको कक्रोच जनता पार्टी सामाजिक सञ्जालमा अप्रत्याशित रूपमा भाइरल बनेको छ । बेरोजगारी र प्रणालीप्रतिको आक्रोश बोकेका युवाहरूको समर्थन पाउँदै सीजेपीले इन्स्टाग्राममा भाजपालाई समेत पछि पारेको छ । अत्यधिक फलोअर्स बढेपछि भारतमा यसको एक्स अकाउन्ट रोक्का गरिएसँगै बहस झन् चर्किएको छ । 

भारतमा हालै सुप्रीम कोर्टका चिफ जस्टिस सूर्यकान्तको विवादास्पद टिप्पणीले ठूलो तहल्का मच्चाएको छ । बेरोजगार युवालाई ककरोच अर्थात सांग्ला र परजीवीसँग तुलना गरेपछि १५ मे २०२६ मा अभिजीत डिप्केले सामाजिक सञ्जालबाटै कक्रोच जनता पार्टी, सीजेपीको घोषणा गरे । अमेरिकाको बोस्टन विश्वविद्यालयमा पढिरहेका ३० वर्षीय दीपकेले यो व्यंग्यात्मक आन्दोलन शुरु गरेका हुन् । 

उनी आम आदमी पार्टीका पूर्व सोसल मिडिया स्वयमसेवी हुन् । के हुन्छ यदि सबै ककरोचहरू एकजुट भए भने ? भन्ने प्रश्नसँगै उदाएको यो पार्टी अहिले भाइरल बनेको छ । यो पार्टी भारतमा व्यंग्य र युवा निराशालाई राजनीतिक आवाज दिने माध्यम बनेको छ । सुरुवातमा जोकका रूपमा सुरु भएको यो अभियानले केही दिनमै लाखौं समर्थक जुटाएको छ । 

इन्स्टाग्राममा १० मिलियनभन्दा बढी फलोअर र लाखौं सदस्य पुगिसकेका छन् । मुख्य रूपमा जेनजी युवा यसमा आकर्षित भएका छन् । इन्स्टाग्राममा ८७ लाख फलोअर्स भएको भारतीय जनता पार्टीलाई समेत कक्रोच पार्टीले १ करोड २१ लाखभन्दा बढि फलोअर्सका साथ पछि पारेको छ । 

फलोअर्सको संख्या अझै बढ्दै गइरहेको छ । हाल भारतीय जनता पार्टी (भाजपा) को आधिकारिक इन्स्टाग्राम पेजमा लगभग ८७ लाख फलोअर्स रहेका छन्। तर सामाजिक सञ्जालमा भर्खरै जन्मिएको कक्रोच जनता पार्टीले १ करोड २१ लाख फलोअर्सको साथ भाजपालाई निकै पछाडि पारेको छ ।

 बेरोजगारी, निट पेपर, शिक्षा र रोजगारीको अभावमा निराश युवाले यसलाई आफ्नो प्रतिरोधको प्रतीक बनाएका छन् । समर्थक बढ्नुको कारण सामाजिक सञ्जालको शक्ति, व्यंग्यको आकर्षण र स्थापित प्रणालीप्रतिको आक्रोश हो । महुआ मोइत्रा, कीर्ति आजाद जस्ता नेताहरूले पनि व्यंग्यात्मक रूपमा समर्थन जनाएका छन् ।

मुख्य ५ घोषणा

पार्टी घोषणासँगै रातारात समर्थक बढिरहेको यो पार्टीेले केही घोषणाहरु समेत सार्वजनिक गरेको छ । जसमा मुख्य ५ घोषणा यस्ता छन् । 
१. कुनै चिफ जस्टिसलाई राज्यसभा सिट नदिने ।

२. वैध भोट मेटाएमा मुख्य निर्वाचन आयुक्तलाई यूएपीए अन्तर्गत पक्राउ गरिने ।

३. संसदमा ३३% होइन ५०% आरक्षण र क्याबिनेटमा पनि ५०% महिला ।

४. अंबानी–अडानीको मिडिया हाउसको लाइसेन्स रद्द र गोदी मिडियाको छानबिन ।

५. सांसद÷विधायकले दल बदलेमा २० वर्षसम्म चुनाव लड्न र सार्वजनिक पदमा बस्न नपाउने ।

पार्टीको मेनिफेस्टोमा यो पार्टी आलसी र बेरोजगारको आवाज हो, जसले भ्रष्टाचार, युवा अवहेलना र प्रणालीको असफलतालाई व्यंग्य गर्दै प्रश्न गर्छ भनेर उल्लेख गरिएको छ ।  यस्ता किशिमका घोषणापत्रका कारण कक्रोज पार्टीले अहिले भारतीय युवामा नयाँ राजनीति तरंग ल्याएको छ । 

भारतमा २०२९ मा निर्वाचन हुँदैछ । धेरै भारतीय युवाहरु सरकारले आफ्नो कुरा नसुन्ने र नबुझ्ने भन्दै आक्रोश व्यक्त गर्छन् । यही सन्दर्भमा सामाजिक सञ्जालमा सीमित यो पार्टी वैधानिकरुपमै चुनावी प्रतिष्पर्धामा समेत जान सक्ने सम्भावना छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update