काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा पनि मन्त्रिपरिषदले पूर्णता प्राप्त गरेको छैन । सुशीला कार्की जेनजी आन्दोलनपछि परिवर्तित राजनीतिक आडमार्फत भदौ अन्तिम साता प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । तर उनले प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना पूरा हुन लाग्दा पनि मन्त्रिमण्डललाई पूर्णता दिन सकेकी छैनन् । उनले सुरुमै बढीमा १२ सदस्सीय मन्त्रिमण्डल बनाउने घोषणा गरेकी थिइन् । तर उनले तेस्रो पटकको मन्त्रिपरिषद विस्तार गर्दा पनि मन्त्रिमण्डल संख्या १० मात्रै पुगेको छ । यस्तोमा प्रधानमन्त्री कार्कीसँग अझै ७ मन्त्रालय बाँकी छन् ।
विवादित नाम सिफारिस हुँदा समस्या
प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटकको मन्त्रिमण्डल असोज अन्तिम सातातिरै विस्तार गर्न खोजेकी थिइन् । जेनजीहरुलाई नै समेटेर मन्त्रिमण्डल विस्तार गर्न खोज्दा प्रस्तावित मन्त्री टासी ल्हाजोमको नाम विवादमा परेको थियो । उनलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने चर्चा भएपनि टासीलाई मन्त्रीमा नियुक्त गर्ने विषयमा कर्णालीका जेनजी समूहले आपत्ति जनाएका थिए । यसपछि प्रधानमन्त्री कार्की मन्त्रिमण्डल विस्तारबाट व्याक भएकी थिइन् ।
त्यसअघि दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नेक्रममा पनि प्रधानमन्त्रीबाटै मन्त्रीमा सिफारिस भएकी डा. संगीता मिश्राको नाम विवादमा परेको थियो । र, उनको नाम अन्तिममा मन्त्रीको लिष्टबाट काटियो । यो मात्रै होइन, तेस्रो पटक अर्थात आईतबारको मन्त्रिपरिषद विस्ताअघि पनि मन्त्रीका लागि सिफारिस भएका दुई जनाको नाम विवादमा परेको छ । जसकै कारण उनीहरु मन्त्री हुनबाट रोकिएका छन् । आईतबार शपथका लागि सिफारिस भएका खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ मन्त्री हुनबाट रोकिएका हुन् । अहिलेसम्म डा. संगीता मिश्रा, खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठसहित ३ जना प्रधानमन्त्रीबाट सिफारिस भएपनि शपथग्रहणमा रोकिसकेका छन् ।
सिफारिस भएर ककसको रोकियो सपथ ?
डां संगतिा मिश्र
डा. संगीता मिश्रालाई प्रधानमन्त्री सुशीला कार्कीले असोज ६ गतेको मन्त्रिपरिषद विस्तारका क्रममा स्वास्थ्यमन्त्री नियुक्त गर्ने लगभग निश्चित भएको थियो ।
जसका लागि उनले स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाटसमेत राजीनामा दिएकी थिइन् । तर उनीमाथि स्वास्थ्य उपकरण खरिदको निर्णयमा घोटाला गरेको आरोप लागेपछि उनको नाम अन्तिममा आएर काटिएको थियो । त्यस्तै ११औँ तहमा सिफारिसको समयमा लोकसेवा आयोगमा फर्जी विवरण पेस गरेको पनि उनीमाथि आरोप लागेको छ । सोही प्रकरणमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
खगेन्द्र सुनार
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको सपथ लिन तयारी अवस्थामा रहेका खगेन्द्र सुनारमाथि पनि विभिन्न मुद्धा रहेको पाइएको छ । उनीविरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको पाइएको छ । स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको कसुरमा उनलाई सरकारी वकिलले प्रतिवादी बनाएर मुद्दा दायर गरेपछि सुनारविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीविरुद्ध सुर्खेतस्थित मेहेलकुना अस्पतालका प्रमखु डा. सोजन सापकोटाले जाहेरी दिएका थिए ।
असार १४ गते दायर भएको मुद्दामा अदालतले उनलाई ७ दिने पक्राउ पुर्जी जारी गरेको थियो । तर उक्त मितिभित्र पक्राउ नपरेपछि ३५ दिने पुर्जी तामेल गरेर उपस्थित गराउनु भन्दै उनको गृहजिल्ला रहेको दैलेख जिल्ला प्रहरी कार्यालयमा अदालतले पत्राचार गरेको थियो । यो मुद्दामा उनलाई पक्राउ गरी अनुसन्धान र अभियोजन गर्न बाँकी छ । यस्तै सुनारविरुद्ध काभ्रे जिल्ला अदालतमा पनि विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा रहेको छ । फेसबुकमा व्यक्तिगत गालीगलौच गरेपछि उनीविरुद्ध मुद्दा दायर भएको थियो । अदालतमा उक्त मुद्दा पनि विचाराधिन अवस्थामै छ । यसबाहेक सुनारमाथि विभिन्न व्यक्तिलाई धम्की, गालीगलौज गरेको र विभिन्न ठगीमा संलग्न भएको आरोपमा उजुरी समेत परेको बताइँदै आएको छ ।
गणपतिलाल श्रेष्ठ
आईतबारको मन्त्रिपरिषद विस्तारमा भूमि व्यवस्थामन्त्रीमा गणपतिलाल श्रेष्ठ पनि मन्त्रिका लागि सिफारिस भएका थिए । तर उनको शपथ अन्तिममा आएर रोकियो । उनीविरुद्ध भूमीसम्बन्धी विवादको मुद्धा रहेको भनिएको छ । यद्यपि उनीविरुद्धको मुद्धाबारे औपचारिक रुपमै कही प्रमाण खुलस्त हुन सकेको छैन । यसबीचमा उनले पहिले सहमति गरेको मन्त्रालय नपाएपछि मन्त्री अस्वीकार गरेको जिकिर गर्दै आएका छन् । उनी प्रधानमन्त्री कार्कीले नै बोलि फेरेपछि मन्त्री नबनेको सार्वजनिक टिप्पणी गर्दै आएका छन् ।
